हिमपातका कारण मनाङका केही मतदान केन्द्र प्रभावित

हिमपातका कारण मनाङका केही मतदान केन्द्र प्रभावित

केन्द्रबिन्दु
45
Shares

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।

हालै भएको हिमपातका कारण विशेष गरी नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रमा पुग्न समस्या भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको उनले बताए ।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।

सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न पैदल दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाको नार क्षेत्रमा तीन र फू क्षेत्रमा दुई गरी पाँच मतदान केन्द्र रहेका छन् ।

आवागमनमा समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार मौसमका कारण उत्पन्न अवस्थाबारे आवश्यक निर्णयका लागि छलफल भइरहेको छ ।

जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी कुल सात हजार मतदाता छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक २२१ मतदाता थपिएका छन् ।

मनाङ एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो । यहाँ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

Skip This
Skip This
Logo