गण्डकी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगेको छ।
प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार मतपत्र ढुवानीको काम पनि सुरु भएको छ। आज कास्कीमा मतपत्र आइपुगेको सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताएका छन्।
निर्वाचनमा प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ प्रकारका सामग्री मतदानस्थलमा पठाइनेछ भने बाँकी सामग्री कार्यालय प्रयोजनका लागि प्रयोग हुने जनाइएको छ। निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारीमा जुटेका छन्।
सामग्री व्यवस्थापनसँगै निर्वाचनमा खटिने कर्मचारी खटनपटनको काम पनि भइरहेको छ। गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा परिचालन हुनेछन्। मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइनेछ।
प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन्। कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ पुगेको छ।
विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गण्डकीमा १६ लाख ६२ हजार २४६ मतदाता थिए। यसपटक दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका छन्। प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।































प्रतिक्रिया