काठमाडौं
दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचन लगत्तै दुई पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने उद्घोष शीर्ष नेताहरुको थियो ।
छिटोछिटो अदलीबदली भइरहने सरकारबाट आजित भएका नेपाली जनताले दुई कम्युनिष्ट पार्टीलाई एउटै बनाउने र देशमा राजनीतिक स्थायित्व तथा समृद्धि दिने बाचा सहजै पत्याए । निर्वाचन वाम गठबन्धनको अनुकुल आयो । अझ भनौँ नसोचेको जित हासिल भयो । संघीय सरकारसँगै ६ वटा प्रान्तीय सरकार एकलौटी चलाउन सक्ने हैसियतमा मतदाताले वाम गठबन्धनलाई पुर्याइदिए । निर्वाचन परिणामले हौसिएका वाम नेताहरु निर्वाचनको रापताप सेलाउन नपाउँदै पार्टी एकताका लागि भन्दै तारान्तार छलफल, सम्वाद र बैठकमा ब्यस्त हुन थाले ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड पनि थुप्रै पटक ‘वन टु वन’ वार्तामा बसे । तर पार्टी एकताको सुत्र आज सम्म पहिल्याउन सकेनन् । बुधबार पार्टी एकता र सरकार गठनका विषयमा निर्णायक वार्ता भनेर खुबै प्रचार भयो । बिहान देखि लगातार ‘वारपार’को वार्तामा नेताहरु जुटे । ओली–प्रचण्डको ‘वन टु वन’ वार्ताले पार्टी एकता र सरकार गठनबारे मोटामोटी खाका तयार पारेको भनियो र त्यसलाई दुवै अध्यक्षले आआफ्नो पार्टी कमिटीमा बुधबारै छलफल गराई पारित गराए । यस्ता समाचार सञ्चार माध्यमबाट लगातार आएपछि वाम समर्थक कार्यकर्ता र जनतामा उत्साह छायो । तर दिनभरीको उत्साह साँझ पर्दै गएपछि चिसो भयो । पार्टी एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भयो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया