काठमाडौं । ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको प्राङ्गणमा नेपाल मन्टेश्वरी एसोसिएसनद्वारा आयोजित ‘एनएमए खेलकुद महोत्सव २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।
११ वटा मन्टेश्वरी विद्यालयको सहभागी उक्त महोत्सवमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन विशेष अतिथिहरू प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बु, पुष्पा रिजाल तथा बसन्त थापाको उपस्थितिमा गरिएको थियो । उद्घाटन समारोहपछि विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिएका थिए । दौड प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए भने साना कक्षाका विद्यार्थीहरू पनि सक्रिय र उत्साहका साथ सहभागी भएका थिए ।
महोत्सवको मुख्य उद्देश्य विद्यार्थीहरूमा अनुशासन, सहकार्य, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्नु रहेको प्रिमियर स्कुलकी निर्देशक लिम्बुले बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
कार्यक्रमभर विद्यार्थीहरूको जोश, उमंग र सक्रियताले विद्यालय परिसर उत्साहमय बनेको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ।
त्यसैगरी प्रिमियर स्कुलका प्रबन्ध निर्देशक बसन्त थापाले खेलकुदले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी ढंगले यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।





























प्रतिक्रिया