दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

केन्द्रबिन्दु
42
Shares

गण्डकी। आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुवाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहित माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उनका अनुसार बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको छ । प्रहरीबाट प्राप्त जानकारीअनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कर्मचारी घटनाबारे थप जानकारी लिन मलेखुबाट घटनास्थल पुगेका छन् ।

बसका चालक सुजित नेपाली रहेको र उनको अवस्था हालसम्म अज्ञात रहेको साईले बताए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका विभिन्न अस्पताल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

महानगरप्रमुख आचार्यले दुःख व्यक्त

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिक्रिया दिएका छन् ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत १७ जना यात्रुको मृत्यु भएको उल्लेख गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

“राति करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म स्तब्ध भएको छु,” उनले उल्लेख गरेका छन् ।

दुर्घटनामा घाइते २४ जनाको स्वास्थ्य लाभको कामना गर्दै उनले उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीयवासीलाई धन्यवाद दिएका छन् । साथै, शोकाकुल परिवारलाई सहयोग र संवेदनशीलता देखाउन आग्रह गरेका छन् ।

Logo