राष्ट्रिय गौरवको आयोजना -कालीगण्डकी लोकमार्ग बन्यो ढिलाइको शिकार

राष्ट्रिय गौरवको आयोजना -कालीगण्डकी लोकमार्ग बन्यो ढिलाइको शिकार

व्यवसायी र इञ्जिनियरको लापरबाहीको प्रतिफलः दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने लमायखोलाको पुल आठ बर्ष लाग्यो

केन्द्रबिन्दु
12
Shares

पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीच रहेको लमाएखोलामा निर्माण गरिएको पुल व्यवसायीको ढिलासुस्ती र डिजाइन परिवर्तनका कारण निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित विसं २०७४ असार २८ गते सम्झौता भई सोही वर्ष पुस १९ गतेदेखि काम सुरु भएको थियो ।

विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल विभिन्न कारणले आठ वर्षपछि मात्रै सम्पन्न भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । रु पाँच करोड ८९ लाख ८९ हजार २७७ लागतमा निर्माण भएको २५ मिटर लामो र ११ मिटर चौडाइको पुल नयाँबाटो गौचन जेभीले निर्माण गरेको हो । पुल सञ्चालनमा आएपछि कालीगण्डकी लोकमार्गमा सिधा यातायात सुरु भएको छ ।

पुल बनेसँगै दक्षिण पर्वतका बासिन्दालाई सदरमुकाम कुश्माबजार आवतजावत गर्न सहज भएको छ । साथै लोकमार्ग हुँदै बुटवल, भैरहवा, पाल्पा, गुल्मी तथा मुस्ताङ, पर्वत, बागलुङ र म्याग्दीतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई समेत सुविधा पुगेको छ । यसअघि झण्डै एक घण्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्नेमा अब पाँच मिनेटमै दूरी पार गर्न सकिने भएको छ ।

करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडक ट्र्याक खुलिसकेको छ भने सेतीवेणीदेखि लमाएखोलासम्मको सडक कालोपत्र भइसकेको छ । पुल निर्माण सम्पन्न नहुँदा सिधा यातायात सञ्चालन हुन सकेको थिएन । गत साता पुलको सबै काम सकिएपछि यातायात सञ्चालनमा आएको आयोजनाका साइड इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।

सुरुमा बनाइएको डिजाइनप्रति स्थानीयले आपत्ति जनाएपछि डिजाइन परिमार्जन गरिएको थियो । इञ्जिनियर गौतमका अनुसार नयाँ डिजाइनअनुसार पुनः निर्माण सुरु गर्दा समय लाग्यो । गत वर्षको बाढीले स्ल्याब ढलानका क्रममा संरचना बगाएपछि थप ढिलाइ भएको उनले बताए ।

पुल निर्माणका लागि छ पटकसम्म म्याद थप गरिएको थियो । विसं २०७६ जेठमै काम सक्ने तयारी भए पनि बीचमै निर्माण रोकिएपछि आयोजना लामो समय अलपत्र परेको थियो । विसं २०८० मङ्सिरदेखि पुनः काम अघि बढाएर हाल सम्पन्न गरिएको हो ।

यसै पुलसँगै सुरु भएको मोदीखोलाको पुल भने दुई वर्षअघि नै सम्पन्न भएको थियो । कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रको काम पनि सुरु भएको छ । उक्त काम सम्पन्न भएपछि पर्वत खण्डको ५५ किलोमिटर सडक निर्माण पूरा हुने आयोजनाले जनाएको छ ।

Skip This
Skip This
Logo