धादिङ बस दुर्घटना : पाँच घण्टा बसभित्रै च्यापिएर बाँचे मानन्धर

धादिङ बस दुर्घटना : पाँच घण्टा बसभित्रै च्यापिएर बाँचे मानन्धर

केन्द्रबिन्दु
57
Shares

मलेखु। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनाले ग्रामीण क्षेत्रमा आपतकालीन उद्धार प्रणालीको अवस्था उजागर गरेको छ । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका ललितपुर इमाडोलका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै निकालिएको हो।

उद्धार टोली घटनास्थलमा पुगे पनि आवश्यक उपकरण अभावका कारण तत्काल बस काट्न वा उठाउन सकेन। भिरमा खसेर कच्याक–कुचुक्क बनेको बसभित्र मानन्धर च्यापिएको अवस्थामा थिए। पछि जनेरेटरसहितको मेसिन ल्याएर बसको पछाडिको भाग काटेपछि मात्र उनलाई बाहिर निकाल्न सम्भव भएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार अप्ठ्यारो भूगोल र पर्याप्त उद्धार सामग्री नहुँदा उद्धारमा ढिलाइ भएको हो। “तत्काल बस उठाउने वा काट्ने उपकरण थिएन। मेसिन ल्याएर बसको साइलेन्सर र पछाडिको भाग काटेर निकाल्यौँ,” उनले भने। मानन्धरलाई उपचारका लागि काठमाडौँ पठाइएको छ र अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। २६ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको छ।

यस घटनाले राजमार्ग क्षेत्रमा द्रुत उद्धार संयन्त्र, अत्याधुनिक उपकरण र तालिमप्राप्त जनशक्तिको अभावबारे प्रश्न उठाएको छ। दुर्घटना हुनेबित्तिकै प्रभावकारी उद्धार हुन नसक्दा मानवीय क्षति बढ्ने जोखिम रहेको स्थानीयले बताएका छन्।

Skip This
Skip This
Logo