काठमाडौं
सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशत सम्म वृद्धि गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशत सम्म पारिश्रमिक वृद्धि गर्न सिफारिस गरेको छ । चिकित्सकको हकहितका विषयमा निर्णय लिन भन्दै ८ असोज ०७४ मा सरकारले स्वास्थ्यसचिव पुष्पा चौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सो समितिले विभिन्न विषयमा निर्णय लिन चार उपसमिति गठन गरेको थियो । चार उपसमिति मध्ये चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारणका विषयमा स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वमा गठित समितिले चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्न सिफारिस गरेको हो । उपसमिति सदस्य डा. प्रकाश बुढाथोकीले विभिन्न शीर्षकमा गरी स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २५० प्रतिशत सम्म वृद्धि गर्न सिफारिस गरिएको जानकारी दिए ।
देशमा जम्मा ३१ हजार ६ सय २७ स्वास्थ्यकर्मी सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन् । डा. बुढाथोकीका अनुसार छैटौँ दर्जा सम्मका ८० प्रतिशत स्वास्थ्यकर्मी दुर्गममा छन् । ९ र १० औँ तहका २० प्रतिशत मात्रै दुर्गममा छन् । बाँकी ११ र १२ औँ तहका स्वास्थ्यकर्मीलाई दुर्गममा खटाइएको छैन । सुगममा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत पारिश्रमिक वृद्धि र दुर्गममा गए २५० प्रतिशत वृद्धि गर्न समितिले सिफारिस गरेको हो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया