काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन् । सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दा सम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो । उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए । छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन् । प्रधानमन्त्री सचिवालय देखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए ।
‘सरकारले सिफारिस गरेका तीन सदस्यको नियुक्ति किन भएन भन्ने बुझौं भन्ने मन्त्रीहरूको पनि सुझाव आयो’, प्रवक्ता शर्माले भने, ‘राष्ट्रपतिले सरकारको सिफारिस अनुरूप मनोनयन नगर्दा सम्म सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक नहुने कुरा आएकाले राजीनामा दिनु भएन ।’ तर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार भेटेर प्रतिनिधिसभाको नतिजा हस्तान्तरण गरिसकेको छ । कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आयोगले राष्ट्रपतिलाई नतिजा हस्तान्तरण गरे लगत्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग तीन सदस्यको सिफारिसबारे कुरा गर्न अह्राएका थिए । अर्थमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभामा ३ जनाको मनोनयन तत्काल गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेस प्रवक्ता शर्माका अनुसार बिहीबार देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिनेछन् ।
बालुवाटारमा दिउँसो ३ बजे देखि कांग्रेसका मन्त्रीसँग देउवाले राजीनामाका विषयमा छलफल गरेका थिए । निर्वाचन आयोगले राति ८ बजे राष्ट्रपतिकहाँ नतिजा हस्तान्तरण गर्ने समय लिएपछि ९ बजे सम्म सम्बोधन सहित राजीनामा दिने सल्लाह भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया