भजनी। भजनी नगरपालिका–७ स्थित श्री हलौना बाबा आधारभूत विद्यालयमा स्थानीय अभिभावकको चन्दाबाट एक शिक्षकलाई पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।
वडाका सञ्जय लोनिया विगत तीन वर्षदेखि उक्त विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गर्दै आएका छन् । उनले वर्षभरि अध्यापन गराएबापत करिब रु २०–२५ हजार पारिश्रमिक पाउने गरेका छन् । उक्त रकम अभिभावक, समाजसेवी तथा स्थानीयले स्वेच्छिक रूपमा सङ्कलन गर्ने चन्दाबाट जुटाइने गरिएको छ । पारिश्रमिक निश्चित नभई सङ्कलित रकमकै आधारमा उपलब्ध गराइन्छ ।
विद्यालय व्यवस्थापन समितिका अनुसार विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक अभाव भएपछि स्थानीय स्तरमै चन्दा सङ्कलन गरी शिक्षक राख्ने निर्णय गरिएको हो । लोनियाले आफ्नै अध्ययनलाई निरन्तरता दिँदै विद्यालयमा अङ्ग्रेजी र स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अध्यापन गरिरहेका छन् ।
उनका अनुसार गाउँमा शिक्षाप्रति सचेतना कम भएकाले बालबालिकालाई अध्ययनमा प्रेरित गर्ने उद्देश्यले न्यून पारिश्रमिकमै काम गरिरहेका छन् । कक्षा १२ सम्म अध्ययन गरेका लोनिया सो गाउँमा उक्त तहसम्म अध्ययन गर्ने थोरै व्यक्तिमध्ये एक हुन् ।
थारु समुदायको बाहुल्यता रहेको काँढा गाउँका अधिकांश बासिन्दा कृषि र ज्यालादारीमा निर्भर छन् । विद्यालयमा हाल १७१ विद्यार्थी अध्ययनरत छन् । पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा लोनियासहित सात शिक्षक कार्यरत छन् । तीमध्ये दुई बालविकास, दुई प्राथमिक तह स्थायी, एक राहत र एक नगर अनुदान कोटामा रहेका छन् ।
प्रधानाध्यापक महेश्वरी ओझाका अनुसार विद्यालयसँग स्थायी आम्दानीको स्रोत छैन । तीन कट्ठा क्षेत्रफलमा सीमित विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा रहे पनि स्थानीयले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । उक्त जग्गा विद्यालयको आम्दानीमा जोड्न सके आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन सहज हुने विद्यालय प्रशासनको भनाइ छ ।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जिल्लाभर शिक्षक व्यवस्थापनमा असन्तुलन देखिएको उल्लेख गरेका छन् । उनका अनुसार आगामी शैक्षिकसत्रदेखि शिक्षक दरबन्दी व्यवस्थापन मिलाउने तयारी भइरहेको छ । लोनियाको योगदान प्रशंसनीय भए पनि आवश्यक अध्ययन अनुमतिपत्र नभएकाले तत्काल नगरपालिकाबाट औपचारिक निर्णय गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।
शिक्षा अधिकृत पङ्खबहादुर शाहले विद्यालय अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्ने काम भइरहेको जानकारी दिएका छन् ।































प्रतिक्रिया