कस्तो छ तनहुँ -१ को चुनावी रणमैदान ?

कस्तो छ तनहुँ -१ को चुनावी रणमैदान ?

जोशीका कैँचीले कति काट्ला मत ?


काठमाडौं। आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा तनहुँका दुवै क्षेत्र १ र २ मा चुनावी सरगर्मी तीव्र बनेको छ । विशेषगरी तनहुँ–१ राष्ट्रिय स्तरमै चासोको केन्द्रमा परेको छ, जहाँ पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा फेरि एकपटक दोहोरिँदैछ। २०८० वैशाख १० मा भएको उपनिर्वाचनको नतिजाले राजनीतिक समीकरण हल्लाएको यो क्षेत्रमा यसपटकको भिडन्तलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराई पुनः आमनेसामने छन्। यसअघि उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९११ मत ल्याउँदै करिब १५ हजार मतान्तरले जित निकालेका थिए। भट्टराईले २० हजार १२२ मत पाएका थिए भने एमाले समर्थित उम्मेदवार तेस्रो स्थानमा सीमित भएका थिए। त्यतिबेला करिब ५३ प्रतिशत मात्रै मत खसेको थियो, तर परिणामले परम्परागत दलहरूलाई गम्भीर सन्देश दिएको थियो।

२०७९ सालको आमनिर्वाचन मा भने चित्र फरक थियो। कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित जित निकालेका थिए। एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र रास्वपाका विकास सिग्देलले क्रमशः ६ हजार ८८६ र ६ हजार ४४ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएको थियो। पौडेल २०७९ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो, जसले मतदाताको मनोविज्ञान बदलिएको संकेत दियो।

यसपटकको निर्वाचनमा एमालेबाट भगवती न्यौपाने मैदानमा छन्। नेकपा, राप्रपा, श्रम संस्कृति पार्टी, उज्यालो पार्टी तथा स्वतन्त्र उम्मेदवारसहित १६ जना प्रतिस्पर्धामा छन्। गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका छन्, जसले पुराना कांग्रेस मतमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

तनहुँ–१ को इतिहास हेर्दा यहाँका मतदाताले विरलै एउटै अनुहार दोहोर्याएका छन्। २०४८ सालदेखि यता अधिकांश निर्वाचनमा फरक–फरक दलका प्रतिनिधि निर्वाचित भएका छन्। २०५१ र २०५६ साल मा मात्रै कांग्रेसका गोविन्दराज जोशी लगातार विजयी भएका थिए। त्यसपछि माओवादी, कांग्रेस, एमाले हुँदै हाल रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन्। त्यसैले यो क्षेत्रलाई ‘अप्रत्याशित परिणाम’ दिने क्षेत्रका रूपमा हेरिन्छ।

भौगोलिक रूपमा देवघाट, आँबुखैरेनी, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका अधिकांश वडा समेटिएको यस क्षेत्रमा १ लाख ३६ हजारभन्दा बढी मतदाता छन्। १५३ मतदान केन्द्र तोकिएका छन्। सहरी क्षेत्रमा रास्वपाप्रति झुकाव देखिएको विश्लेषण छ भने ग्रामीण बस्तीमा कांग्रेसको आधार बलियो मानिन्छ। एमाले परम्परागत मत जोगाउने प्रयासमा छ ।

उपनिर्वाचनमा एमाले र अन्य दलका केही मत रास्वपातर्फ सरेको विश्लेषण गरिएको थियो। तर यसपटक समीकरण फेरिएको छ। नेकपा, स्वतन्त्र र साना दलहरूको उपस्थिति मत विभाजनको अर्को कारक बन्न सक्छ । युवा मतदाता, विदेशिएको जनशक्ति, मूल्यवृद्धि, रोजगारीको अभाव, स्वास्थ्य र खानेपानी समस्या मुख्य बहसका विषय बनेका छन्।

तनहुँ-१ मा मुख्य प्रश्न फेरि उभिएको छ-उपनिर्वाचनको लहर दोहोरिन्छ कि परम्परागत शक्ति फर्किन्छ? विगतमा बारम्बार परिणाम बदलिएको इतिहासले यसपटक पनि अनिश्चितताको संकेत गरेको छ। तनहुँका मतदाताले फेरि नयाँ सन्देश दिन्छन् कि पुरानै समीकरणमा फर्किन्छन्, त्यसको जवाफ फागुन २१, २०८२ ले दिनेछ।

तनहुँ जिल्लाभर कुल मतदाता २ लाख ५४ हजार ३७९ छन्, जसमध्ये महिला १ लाख ३० हजार ९०६ र पुरुष १ लाख २३ हजार ४९१ छन्। तनहुँ क्षेत्र नं. १ मा कुल मतदाता संख्या १ लाख २६ हजार ८८२ रहेका छन् । यी मध्य ६१ हजार ७७८ (४८.६९%)पुरुष र ६५ हजार १०४ (५१.३१%) महिला रहेका छन् ।

रास्वपाका स्वर्णिम वाग्ले
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले पुनः चुनावी मैदानमा छन्। २०८० को उपनिर्वाचनमा ऐतिहासिक जीत हासिल गरेका वाग्ले यसपटक आफ्नो प्रभाव कायम राख्ने रणनीतिसहित मतदातामाझ पुगेका छन्।

वि.सं. २०३० सालमा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले उच्च शिक्षित अर्थशास्त्रीका रूपमा चिनिन्छन्। उनले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्नातक, अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर तथा अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। शैक्षिक पृष्ठभूमिका कारण उनी लामो समय नीतिगत तहमा सक्रिय रहे।

डा. वाग्ले झण्डै तीन दशक नेपाली कांग्रेससँग वैचारिक रूपमा जोडिएका थिए। २०६४, २०७०, २०७४ र २०७९ का आम निर्वाचनमा कांग्रेसको घोषणापत्र निर्माणमा उनको भूमिका रहेको बताइन्छ। कांग्रेस नेतृत्वमा सरकार गठन हुँदा उनी दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य तथा २०७४ मा उपाध्यक्ष बनेका थिए। अर्थनीति र विकास योजनामा उनको योगदान उल्लेखनीय मानिन्छ।

२०७९ सालको आम निर्वाचनअघि टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस त्यागेका थिए। त्यसपछि २०७९ चैत १६ गते रास्वपामा प्रवेश गरे। केही सातामै तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका उनले २०८० वैशाख १० मा सम्पन्न निर्वाचनमा ३४,९१९ मत प्राप्त गर्दै विजय हासिल गरे। उक्त जीतलाई परम्परागत राजनीतिक समीकरणमा परिवर्तनको संकेतका रूपमा विश्लेषण गरिएको थियो।

हाल वाग्ले रास्वपाका उपसभापति तथा संसद सदस्यका रूपमा सक्रिय छन्। संसदमा बजेट, अर्थतन्त्र, सार्वजनिक खर्च व्यवस्थापन र सुशासनका विषयमा धारणा राख्दै आएका उनी प्रतिनिधिसभाको अर्थ समितिमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। पार्टीभित्र आगामी रणनीति तथा “मिसन ८४” को खाका तयार पार्ने जिम्मेवारीसमेत उनले सम्हालेका छन्।

२०८२ को निर्वाचनमा उनी पुनः तनहुँ–१ बाटै प्रतिस्पर्धामा छन्। यसपटक उनले स्थानीय विकासका योजना र राष्ट्रिय आर्थिक रूपान्तरणको दृष्टिकोणलाई जोडेर प्रचार गरिरहेका छन्। आफूलाई प्राविधिक विज्ञता र जनमतको संयोजन गर्ने नेतृत्वका रूपमा प्रस्तुत गर्दै उनले अर्थतन्त्र सुधार, पारदर्शिता र संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेका छन्।

तनहुँ–१ मा बहुपक्षीय प्रतिस्पर्धाबीच डा. स्वर्णिम वाग्लेको उम्मेदवारी पुनः केन्द्रमा छ। २०८० वैशाख को उपनिर्वाचनमा प्राप्त समर्थनलाई कायम राख्ने कि नयाँ समीकरण बन्छ भन्ने प्रश्नसँगै उनको राजनीतिक यात्रा अर्को महत्वपूर्ण मोडमा पुगेको छ।

एमालेकी भगवती न्यौपाने
प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले बाटचुनावी प्रतिस्पर्धामा उत्रिएकी भगवती न्यौपाने राष्ट्रिय राजनीतिदेखि स्थानीय तहसम्म सक्रिय भूमिका निर्वाह गरेकी नेतृ हुन् । यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित मैदानमा छिन्।

एम.एड.सम्म अध्ययन गरेकी न्यौपाने एमालेकी केन्द्रीय सदस्य हुन्। उनले अखिल नेपाल महिला संघ (अनेमसंघ) बाट सक्रिय राजनीति सुरु गरेकी हुन्। लामो समय महिला संगठनमार्फत पार्टीमा काम गर्दै उनले सांगठनिक आधार तयार पारेकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा पराजित भए पनि उनले स्थानीय राजनीतिको अनुभव बटुलेकी थिइन्। त्यसपछि २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्। राष्ट्रिय सभामा रहँदा उनले नेकपा (एमाले) को प्रमुख सचेतकको जिम्मेवारी सम्हालेकी थिइन्।

२०८२ साल असारमा उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन्। तत्कालीन मन्त्री राजकुमार गुप्ता भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनले उक्त जिम्मेवारी सम्हालेकी हुन्। मन्त्रीका रूपमा छोटो अवधिमा उनले प्रशासनिक सुधारका केही पहल अघि बढाएकी थिइन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतको अभ्यास अन्त्य गर्ने प्रयास, ‘फेसलेस’ सरुवा प्रणाली लागू गर्ने तयारी तथा चक्रीय सरुवा प्रणाली कार्यान्वयनमा सक्रियता उनका प्रमुख कदमका रूपमा लिइन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएकी थिइन्। अहिले तनहुँ–१ मा उनको प्रतिस्पर्धा मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईसँग हुँदैछ ।

एमालेभित्र संगठनात्मक रूपमा सक्रिय नेतृका रूपमा चिनिने न्यौपाने पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छिन्। तनहुँ–१ मा पुराना र नयाँ शक्तिबीचको प्रतिस्पर्धा चर्किरहेका बेला न्यौपानेले एमालेको विरासत जोगाउँदै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेकी छन्।

नेकपाका विद्यानाथ ढकाल

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका ६५ वर्षीय विद्यानाथ ढकाल भानु नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। उनी पूर्ण रूपमा तनहुँ–१ कै स्थानीय उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

ढकालले आफ्नो राजनीतिक तथा सामाजिक सक्रियता दशकौँदेखि सुशासन, विकास र भ्रष्टाचारविरुद्धको अभियानमा केन्द्रित रहेको बताउँदै आएका छन्। स्थानीय स्तरमा “विद्या सर” का रूपमा चिनिने उनी क्षेत्रको भूगोल, इतिहास र जनजीवनसँग नजिक रहेको दाबी गर्छन्। “मेरो घर, मेरो सबैथोक तनहुँ–१ हो। यहीँ जन्में, हुर्कें र यहीँ काम गरिरहेको छु,” भन्ने सन्देशसहित उनी घरदैलो अभियानमा सक्रिय छन्।

यस निर्वाचनमा उनी आफ्नै पार्टीको चिन्ह ‘तारा’ लिएर प्रतिस्पर्धामा छन्। नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट धारसँग उनको विगतमा सम्बन्ध रहेको चर्चा भए पनि यसपटक उनी नेकपाबाट स्वतन्त्र पहिचानसहित मैदानमा उत्रिएका छन्।

ढकालको चुनावी एजेन्डामा सुशासन, सडक विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा सुधार र रोजगारी सिर्जना मुख्य प्राथमिकतामा छन्। उनले पत्रकार सम्मेलन, आन्तरिक छलफल, टोलभेटघाट र घरदैलो अभियानलाई तीव्र बनाएका छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै “जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता” व्यक्त गरिरहेका छन्।

विगतमा उनले प्रदेश सभा वा अन्य निर्वाचनमा भाग लिएको अनुभव छ । २०७९ सालको निर्वाचन मा पनि उनले कम्युनिस्ट धारबाट प्रतिस्पर्धा गर्दै केही मत प्राप्त गरेका थिए। यसपटक भने प्रतिनिधिसभामा प्रत्यक्ष प्रतिस्पर्धा गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने लक्ष्य राखेका छन्।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा (एमाले) की भगवती न्यौपाने प्रमुख प्रतिस्पर्धी मानिए पनि ढकाललाई स्थानीय स्तरमा वैकल्पिक र स्थापित अनुहारका रूपमा हेरिएको छ। पुराना दलप्रति बढ्दो निराशाबीच उनी “स्थानीय, निष्कलंक र बौद्धिक” छविसहित चुनौती दिन सक्ने उम्मेदवारका रूपमा चर्चामा छन्।

चुनावी माहोल तातिँदै जाँदा ढकाल समर्थकहरूले “विद्या ढकाल जिताऔँ” अभियान सञ्चालन गरिरहेका छन्। तनहुँ–१ मा मतदाताले स्थापित दलहरूबीचको प्रतिस्पर्धा रोज्ने कि स्थानीय विकल्पतर्फ फर्किने भन्ने प्रश्नबीच ढकालको उम्मेदवारीले चुनावी समीकरणमा थप चासो थपेको छ।

नेपाली कांग्रेसका गोविन्द भट्टराई
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई पुनः चुनावी मैदानमा छन्। लामो समयदेखि विद्यार्थी राजनीति र पार्टी संगठनमा सक्रिय रहँदै आएका भट्टराई यसपटक स्वर्णिम वाग्ले (रास्वपा), भगवती न्यौपाने (एमाले) र विद्यानाथ ढकाल (नेकपा) सँग प्रतिस्पर्धामा छन्।

वि.सं. २०२० साल मा तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा जन्मिएका भट्टराई हाल ६२ वर्षका छन्। स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनी पूर्ण रूपमा तनहुँ–१ कै स्थानीय नेता हुन्। व्यास नगरपालिकासँग गहिरो सम्बन्ध राख्ने भट्टराईले आफूलाई स्थानीय विकाससँग जोडिएको अनुहारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। वि.सं. २०३५ साल मा नेविसंघको सदस्यता लिएका उनी पञ्चायतकालीन विद्यार्थी आन्दोलनमा सक्रिय थिए। २०५३ साल मा विराटनगरमा सम्पन्न नेविसंघको सातौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका भट्टराईले २०५३ देखि २०५७ सालसम्म नेतृत्व सम्हाले। विद्यार्थी अधिकार, संगठन विस्तार र प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा उनले अग्रणी भूमिका खेलेका थिए। २०३६, २०४२ र २०४६ का आन्दोलनहरूमा संलग्न हुँदा उनले पटक–पटक हिरासत र जेल जीवन पनि भोगेका थिए।

विद्यार्थी राजनीतिपछि उनी नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय भए । १३औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा मनोनीत भएका भट्टराई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। पार्टी संगठनमा निष्ठावान र अनुशासित नेताका रूपमा चिनिने उनी लामो समयदेखि कांग्रेसभित्र सक्रिय छन्। २०७३ सालमा नेविसंघको ११औँ महाधिवेशन निर्देशन समितिमा समेत सदस्य थिए।

स्थानीय तहमा उनले खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा सक्रिय भूमिका खेलेको दाबी गरिन्छ। तनहुँमा ६० भन्दा बढी खानेपानी योजनामा संलग्नता रहेको भन्दै समर्थकहरूले उनलाई विकासमुखी नेताका रूपमा चित्रण गर्छन्।

निर्वाचन यात्राको सन्दर्भमा, २०७४ साल मा गण्डकी प्रदेश सभामा उम्मेदवार बनेका भट्टराई पराजित भएका थिए। २०८० वैशाख १० मा सम्पन्न तनहुँ–१ को उपनिर्वाचनमा उनी कांग्रेसका तर्फबाट उम्मेदवार बने। उक्त निर्वाचनमा उनले २० हजार १२२ मत प्राप्त गरे पनि रास्वपाका स्वर्णिम वाग्लेसँग पराजित भए। यसपटक भने उनी पुनः सोही क्षेत्रमा प्रतिस्पर्धा गर्दै अघिल्लो हारको समीकरण बदल्ने लक्ष्यमा छन्।

उनको चुनावी एजेन्डामा तनहुँलाई सूचना प्रविधि केन्द्र (आईटी हब) का रूपमा विकास गर्ने, स्थानीय पूर्वाधार विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना प्रमुख विषय छन्। “स्थानीय नेतृत्वले मात्र क्षेत्रको समस्या बुझ्न सक्छ” भन्ने सन्देशसहित उनी घरदैलो अभियानमा सक्रिय छन्।

तनहुँ–१ मा मतदाताको मनोविज्ञान बदलिँदो छ। पुराना दलप्रति असन्तुष्टि बढेको चर्चा भइरहँदा भट्टराईले आफ्नो स्थानीय जरा, संगठनात्मक अनुभव र विद्यार्थी आन्दोलनबाट आएको संघर्षपूर्ण पृष्ठभूमिलाई बलियो आधारका रूपमा अघि सारेका छन्। चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा तनहुँ–१ मा उनको राजनीतिक यात्राको अर्को अध्याय लेखिने तयारीमा छ।

राप्रपाका रामदत्त जोशी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट रामदत्त जोशी मैदानमा उत्रिएका छन् । राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा उभिँदै आएको राप्रपाको एजेन्डासहित जोशीले चुनावी अभियानलाई तिव्र पारेका छन् ।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय रहेका जोशी बहुदल स्थापनापछि निरन्तर राप्रपामै आवद्ध छन्। पार्टीभित्र उनी पुराना र निष्ठावान नेताका रूपमा चिनिन्छन्। तनहुँ जिल्ला तहमा विभिन्न जिम्मेवारी सम्हालेका जोशी हाल राप्रपाका केन्द्रीय सदस्य समेत हुन्।

२०८० वैशाख १० मा सम्पन्न तनहुँ–१ को उपनिर्वाचनमा पनि जोशी राप्रपाका तर्फबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले करिब ४०० मत प्राप्त गरेका थिए। यसपटकको निर्वाचनमा पनि पार्टीले उनलाईनै पुनः प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

जोशीले आफ्नो चुनावी अभियानमा संवैधानिक राजतन्त्र पुनस्र्थापना, नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने तथा सुशासन स्थापना गर्नुपर्ने एजेन्डा अघि सारेका छन्। साथै, उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै ‘भ्रष्टाचारमुक्त तनहुँ’ को नारा दिएका छन्। ग्रामीण भेगका सडक, बिजुली र सिँचाइ समस्यालाई प्राथमिकतामा राख्दै स्थानीय पूर्वाधार विकासमा जोड दिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) की भगवती न्यौपाने र अन्य दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिए पनि जोशी आफ्नो परम्परागत आधार मत जोगाउने प्रयासमा छन्। विशेष गरी राष्ट्रवादी र धार्मिक मतदातामाझ आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा उनी सक्रिय देखिन्छन्।

बहुपक्षीय प्रतिस्पर्धा चलिरहेको तनहुँ–१ मा राप्रपाको एजेन्डा कत्तिको प्रभावकारी बन्छ भन्ने प्रश्नसँगै रामदत्त जोशीको उम्मेदवारीले चुनावी समीकरणमा अर्को आयाम थपेको छ ।

धारिलो कैँची लिएर उभिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी

यस्तै यहाँ स्वतन्त्र रुपमा कैँची लिएर मत काट्ने दाउमा पुर्वसांसद गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका छन् । उनले पुराना कांग्रेस मतमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । यद्दपि पार्टी राजनीतिबाट अघाएकाहरुले पनि जोशीलाई समथर्न गर्ने देखिएको छ । कोलोराडो टेक्नीकल युनिर्भसिटी यूएसयसमा स्नातोकोत्तर सम्मको अध्ययन हाँसिल गरेका जोशीसँग सिस्टम परफमेन्स इन्जिनियरको ५ बर्ष एप्लीकेसन डेभलपर भएर काम गरेको अनुभव छ । उनी सामाजिक कार्यमा सक्रिय रहँदै आएकोले पनि स्थानिय मतदाताको समर्थन पाउने आँकलन छ ।
जोशीका कैँचीले कति मत काट्छ त्यो पनि हेर्न बाँकी नै छ ।

चुनावी मैदानमा उत्रिएका साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि कति मत काट्छन् भन्ने कुराले मुख्य प्रतिस्पर्धीलाई प्रभाव पार्नेछ। यसपालिको निर्वाचनमा तनहुँ १ लाई चासोको केन्द्रका रुपमा हेरिएको मात्र छैन यहाँको निर्वाचनले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्नेछ । बाजी कस्ले मार्छ त्यो भने २१ गतेको चुनावी परिणामले देखाउनेछ ।

Logo