काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका पाँच जना सदस्यहरुको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले आफूले २७ गते बैठक बस्न सहमतिका लागि आग्रह गरे पनि प्रधानमन्त्री ओलीले स्वीकार नगरेको बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार २६ गते अध्यक्ष ओलीको उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७ गते बैठक बस्न आग्रह गरिएको हो । प्रचण्डको प्रस्तावमा ओलीले भने अहिलेसम्म सहमति नजनाएको उनले बताए । उनले भने, ‘‘२६ गते अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर जाने भन्ने कार्यक्रम भएको स्थितिमा २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रचण्डले अनुरोध गर्नुभएको छ । छलफलमा पनि २७ गते बस्ने कुरामा ओलीले सहमति जनाइसक्नु भएको छैन । प्रचण्डले प्रस्ताव गर्नुभए अनुसार भोलिको कार्यक्रम सकिएपछि सहमति जनाउनु हुनेछ भन्नेमा हामी आशा गर्छौ ।’’
प्रवक्ता श्रेष्ठले सहमतिमा बैठक बसौं भनेर अनुरोध गर्नु कमजोरी नभएर पार्टी एकताको रक्षा गर्न र पार्टीका निर्णयहरु कार्यान्वयन गर्ने प्रयत्न भएको पनि बताए ।
२७ गते पनि ओलीले बैठक सञ्चालनका लागि सहमति नदिए के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा प्रवक्ता श्रेष्ठले पार्टी अहिले संकटको परिस्थितिमा रहेकाले एकताप्रति सबै संवेदनशील रहेको बताए । पार्टी एकताको रक्षा गर्न अहिले पनि बैठक नबसे के गर्ने भन्ने विषयमा केही नसोचेको उनले बताए ।
यसअघि गत शुक्रबार सचिवालयका ५ जना सदस्यहरुले बैठक बोलाउन आग्रह गर्दै ओलीलाई लिखित प्रस्ताव गरेका थिए । तर उनले सहमति जनाएका थिएनन् । मंगलबारको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।





























प्रतिक्रिया