इतिहासकै सर्वाधिक कठिन मोडमा ओली

इतिहासकै सर्वाधिक कठिन मोडमा ओली

के-के छन् उनका सबल र दुर्बल पक्ष ?


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिवेला झापा क्षेत्र नं ५ मा घरदैलो कार्यक्रममा व्यस्त छन् । पहिलो संविधानसभाको निर्वाचन २०६४ बाहेक २०४८ साल यताका सबै निर्वाचन सहजै जितेका अध्यक्ष ओली सम्भवत पहिलोपटक यति गहन र मिहिन चुनावी अभियानमा छन् ।

यस अगाडि केहीसमय जाने, आमसभामा सम्बोधन गरेर फर्कने र देशव्यापी चुनाव प्रचारमा होमिने ओली यतिवेला पूर्ण रुपमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह ओलीलाई हराउनकै लागि झापा– ५ मा गएपछि यस पटकको निर्वाचन ओलीको लागि फलामको चिउरा बनेको छ । उनका लागि याेपटक पहिले जस्तो सहज र अनुकूल वातावरण छैन ।

भदौ २३ गते प्रहरीको गोलीबाट १९ जना विद्यार्थी मारिएको घटना ओलीका लागि राजनीतिक जीवनकै एक दाग बन्न पुगेको छ । यति मात्र होइन, विगतमा प्रधानमन्त्री हुँदा उनी आफैले बाँडेका र घोषणा गरेका महत्वाकांक्षी आयोजना यतिवेला उनकै लागि गलपासो बन्न पुगेको छ । यी चुनौतीका बाबजुद पनि अध्यक्ष ओली एक पुराना, पाका र अनुभवी राजनीतिज्ञ हुन जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

ओलीका सबल र दुर्बल पक्ष

दृढ अडान र प्रतिकुल निर्णय लिन सक्ने नेता

अध्यक्ष ओली त्यस्ता नेता हुन जसले आफ्नो पार्टी र आफ्नो प्रतिष्ठाको ख्याल नगरी कुनै पनि निर्णय लिनसक्छन् । उनी पपुलर हुनका लागि आफ्नो अडान र नीतिमा सम्झौता गदैनन् । र, कसैले पनि दवावका माध्यमले उनलाई निर्णय लिनबाट रोक्न सक्दैन । यसको ताजा उदाहरण हो– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उनले लिएको अडान । उनले यसलाई जेनजी आन्दोलनको मान्यता दिएका छैनन्, बरु यसलाई उनले देश र उनको पार्टी विरुद्ध भएको ठूलो षडयन्त्रको रुपमा ब्याख्या गरिरहेका छन् । काँग्रेस र माओवादीले त्यसलाई आन्दोलनको मान्यता दिई त्यसको अपनत्व समेत लिइसकेका छन् तर उनी आफ्नो अडानबाट बिचलित छैनन् । यतिवेला उनी आफ्नो अडानमा एक्लो वृहस्पति छन् । उनी चुनाव हार्न तयार छन् तर जेनजी आन्दोलनको बारेमा आफ्नो पोजिसन परिवर्तन गर्ने पक्षमा छैनन् । विशेषतः पछिल्लोपटक गिरिजाप्रसाद कोइरालापछि उनी आफ्नो अडानमा दृढ रहने पहिचान बनाएका नेता हुन् ।

राष्ट्रवादी नेताको छवी

२०७२ सालमा पार्टी सभापति र त्यसलगत्तै प्रधानमन्त्री बनेपछि ओलीले जबर्रजस्त रुपमा राष्ट्रवादी नेताको छवी बनाएका छन् । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाईरहेको थियो । उनले प्रधानमन्त्रीको रुपमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध गरे । अन्य राजनीतिक दल विशेषत नेपाली काँग्रेस र माओवादीले नाकाबन्दीको बारेमा एकदमै ढुलमुले अडान लिइरहेका थिए तर ओली दृढ रुपमा नाकाबन्दीको विपक्षमा उभिए जसले उनको राष्ट्रवादी छवी बनाउन सहयोग ग–यो । नाकाबन्दीकै बीचमा उनलाई भारतले औपचारिक भ्रमणका लागि बोलायो तर उनले नाकाबन्दी अन्त नहुँदासम्म भारत भ्रमणमा नजाने निर्णय लिए जुन कुरा नेपालका लागि तत्कालीन भारतीय राजदूत रन्जित रेले आफ्नो पुस्तकमा समेत उल्लेख गरेका छन् । त्यसपछि उनले चीनसँग गरेको पारवहन सम्झौता र नयाँ नक्साले उनको राष्ट्रवादी छवीलाई थप सुदृढ बनायो ।

पछिल्लोपटक जेनजी आन्दोलन हुनुभन्दा एक हप्ता पहिला उनी एससिओ वैठकमा सहभागी भए जहाँ उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गरे । उनी जापानविरूद्धको चीनले आयोजना गरेको सैन्य परेडमा समेत सहभागि भए । विशेषत प्रधानमन्त्री भएपछि उनले कुनै पनि देश भूगोल, जनसंख्या र अर्थतन्त्रको हिसाबले सानो ठूलो भएपनि सबै मुलुकको समान हैसियत हुने भन्दै सावैभौमिक समानताको आधारमा सम्बन्धलाई अगाडी बढाए । उसो त उनलाई नेपालको वैदेशिक सम्बन्ध बिगारेको आरोप समेत लाग्ने गरेको छ ।

पूर्वाधार विकासको भोक

ओलीको अर्काे विशेषता हो– उनमा विकासको तिव्र भोक छ । पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा होस वा पछिल्लोपटक शक्तिशाली कम्युनिष्ट पार्टीको प्रधानमन्त्री हुँदा होस उनले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखे । त्यसका लागि केही पहल पनि लिए तर विविध कारणले उनको सरकार धेरै टिक्न सकेन् । पूर्वाधार मात्र होइन, उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत उनले केही नयाँ परियोजना अगाडि सारे । जस्तो उनकै कार्यकालमा सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रम लागू भयो । विकास र पूर्वाधारको भोको भएपनि आफ्नै पार्टीभित्रको विवाद मिलाउन नसक्दा उनले पाएको ऐतिहासिक अबसर गुम्यो । उनको अर्काे कमजोरी चाहि उनले आर्थिक हिसाबले असम्भव र अव्यवहारिक विकास आयोजनाको सपना देखाए जुन पूरा हुन सकेन र आज उनलाई हावादारी योजना अगाडी सारको आरोप लागिरहेको छ ।

राजकाजको लामो अनुभव

ओली एक अनुभवी नेता हुन् । उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । पञ्चायतकालमा नै उनी १४ वर्ष जेल बसे । खुला राजनीतिमा आएपछि विसं २०४६ सालदेखि नै ओली निरन्तर रुपमा पार्टीमा सक्रिय भए । यति मात्र होइन, उनले विभिन्न सरकारमा परराष्ट्र र गृह लगायतका महत्वपूर्ण मन्त्रालय सम्हाले । त्यसैले उनीसँग पार्टी र सरकार दुवैको लामो अनुभव छ । पछिल्लो दशक वर्षमा त उनी तीन पटक प्रधानमन्त्री भइसकेका छन् भने तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बनेका छन् । त्यसैले उनीसँग पार्टी संचालन र राजकाजको निकै गहन अनुभव छ ।

अतिवादी राजनीतिकविरुद्ध लड्न सक्ने नेता

ओली लामो समयदेखि अतिवादको विरुद्धमा एक्लै लडिरहेका नेता हुन् । यसका केही उदाहरण म बुँदागत रुपमा प्रस्तुत गर्न गइरहेको छु । पहिलो, माओवादी शान्ति प्रक्रियामा आईसकेपछि पहिलो संविधान सभाको निर्वाचनको तयारी रहँदै गर्दा देशब्यापी रुपमा माओवादीको धाक, धम्की, डर, त्रास थियो । त्यतिवेला एमालको वरिष्ठ नेताको हैसियतमा ओली नै त्यस्ता नेता थिए जसले माओवादीको अतिवादको चर्काे स्वरले विरोध गरे । पछि नेपालमा जातिय संघियताको माग निकै तिव्र भयो अन्य नेता त्यसको विरुद्धमा उभिन सकेनन्, ओली नै त्यसको विरुद्धमा कडा रुपमा प्रस्तुत भए । संविधान निर्माणको समयमा एक मधेश एक प्रदेशको माग निकै थियो । काँग्रेस र माओवादी लगायतका नेता मौन थिए तर उनले त्यसको बलियो प्रतिवाद गरे । पछिल्लोपटक राजावादी आन्दोलनको कडा आलोचक पनि ओली नै थिए ।

निष्कर्षमा यतिधेरै सवल पक्ष हुँदाहुँदै पनि ओलीका केही कमजोरी छन् जसले गर्दा उनले ऐतिहासिक रुपमा पाएका जिम्मेवारी समेत गुमाएका छन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपा अर्थात् नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली अध्यक्ष एवं दुइ तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओलीले त्यो एकतालाई बचाउन सकेनन्, जसले गर्दा लामो समय सत्ता संचालन गर्ने अवसरबाट उनी बन्चित हुन पुगे । विशेषत पार्टी अध्यक्ष बनेपछि उनले पार्टीमा एकलौटी प्रभाव जमाउने धृष्टता गरे, जसले गर्दा पार्टी विभाजन मात्र भएन, धेरै पुराना र वरिष्ठ नेताहरुले समेत पार्टी छोड्न बाध्य हुनपर्यो । उच्च राजनीतिक उचाई भएपनि कुनै पनि विषयमा पर्याप्त तयारी नगरी र आफ्नो ज्ञान नभएका क्षेत्रमा जथाभावी बोल्ने बानीले उनको सार्वजनिक इमेजमा ठूलो धक्का लागेको छ । यतिवेला उनी इतिहासकै सर्वाधिक कठिन मोडमा छन्–एकातिर उनीमाथि आफैं चुनाव जित्ने ठूलो चुनौती बाँकी छ भने अर्काेतिर पार्टीको साख जोगाइराख्ने चुनौती ।

Skip This
Skip This
Logo