नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने कांग्रेसको योजना

नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने कांग्रेसको योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाली कांग्रेसले नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ। पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

कांग्रेसले पर्यटनको योगदान कूल गार्हस्थ्य उत्पादनमा १५–२० प्रतिशत पु¥याउने उद्देश्यसहित विमानस्थललाई यात्रीमैत्री र सुविधायुक्त बनाउने प्रतिज्ञा गरेको छ। नेपाल वायुसेवा निगमलाई छ महिनाभित्र ‘जनताको ध्वजवाहक’मा रूपान्तरण गर्ने र सुरक्षित, किफायती हवाई सेवा सुनिश्चित गर्ने योजना पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको छ।

पार्टीले एयर ट्राफिक व्यवस्थापन चुस्त बनाउन, विमानको होल्डिङ समय कम गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक दुई स्वायत्त निकायमा विभाजन गर्न, तथा युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी सेफ्टी लिस्टबाट नेपाललाई हटाउन पहल गर्ने बताएको छ।

पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै विश्वका प्रमुख सहरहरूसँग सीधा उडान सम्पर्कको व्यवस्था गर्ने प्रतिबद्धता पनि उल्लेख छ। कांग्रेसले अमूल्य सांस्कृतिक सम्पदा र भौगोलिक विशेषतालाई उपयोग गर्दै पर्यटनलाई रोजगारी, उद्यमशीलता र स्थानीय समृद्धिको आधार बनाउने योजना अघि सारेको छ।

‘आरोग्य नेपाल’ नारासहित शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउनका लागि डिजिटल अध्यात्मिक कोरिडोर, मुक्तिनाथ–जनकपुर–लुम्बिनी–काठमाडौँ सर्किट जस्ता कार्यक्रम अघि बढाइनेछ। नेपाली उत्सव, जात्रा, र परम्परागत कला प्रवद्र्धन गर्न राष्ट्रिय कला कोष, बजार व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिक सहकार्यको योजना पनि छ।

महिला र युवा उद्यमीलाई कर छुट र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, सार्वजनिक–निजी–सामुदायिक साझेदारीको मोडेल अपनाउने, पर्वतारोहणलाई सुरक्षित, व्यवस्थित र पर्यामैत्री बनाउने, हिमाल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा ‘रोयल्टी’को ३० प्रतिशत खर्च गर्ने लगायतका नीति पनि प्रतिज्ञापत्रमा समावेश गरिएको छ।

Logo