पर्वत। प्रतिनिधि सभा उम्मेदवार मनहरी तिमिल्सिनाले भूगोलले साथ दिएपनि फलेवास क्षेत्र विकासमा पछाडि परेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी फलेवास ६ देविस्थानले आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै तिमिल्सिनाले प्राकृतिक र भौगोलिक रुपमा सम्पन्न फलेवासमा सम्भावनानै सम्भावना भएपनि विकास र समृद्धिमा पछाडि पर्नु दुखद भएको बताए। उनले भने, “यहाँको भूगोल स्मार्ट सिटीको रुपमा विकास गर्ने खालको समथर छ,जल, जमिन,जङ्गल,जनशक्ति सवैमा सम्पन्न हुँदापनि आवश्यक दीर्घकालिन विकास र समृद्धिको नीति अभावमा फलेवास पछाडी पर्नु दुखद छ,यो क्षेत्रलाई जिल्लाको व्यापारिक केन्द्र बनाउन आवश्यक पहल गर्नेछु ।” फलेवासको माटो उर्वर भएपनि सिँचाइमा स्थानियले खेप्नुपरेको सास्ती नजिकबाट नियालेको भन्दै तिमिल्सिनाले दीर्घकालिन समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले यहाँको सिँचाइका लागि प्रयोग हुने लमायखोलाको पुरानो नहर लाई स्तरोन्नती गर्ने, कालिगण्डकीको पानि समेत बोरिङ मार्फत बाह्रैमास सिँचाई अभाव नहुनेगरी ओजना अगाडि बढाएर समस्या समाधान गर्न सकिने उल्लेख गरे । फलेवासमा खेल क्षेत्रको विकासका लागि देविस्थान रङ्गशालालाई राष्ट्रिय रंगशालाका रुपमा विकास गर्न सकिने सम्भावना रहेको सुनाए । राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर फलेवास हुँदै जाने भएकोले पनि फलेवास लाई व्यापारिक केन्द र स्मार्ट सिटीका रुपमा विकास गर्न दीर्घकालिन योजनाका साथ अगाडि बढ्ने धारणा व्यक्त गरे ।
तिमिल्सिनाले विशेष रूपमा कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिएका छन्। उनले सामूहिक कृषि प्रणाली लागू गरी साना किसानलाई प्रत्यक्ष लाभ पुर्याउने, मल कारखाना स्थापना गर्ने, आधुनिक सिँचाइ प्रणाली र बाली–तयारी तालिममार्फत उत्पादकत्व बढाउने र मुख्यतः बाँदर नियन्त्रण गर्ने योजना अघि सारेका छन्। उनका अनुसार यसले उत्पादन वृद्धि मात्र नभई युवा रोजगारी सिर्जनामा पनि योगदान पुर्याउनेछ।
पूर्वाधार विकासमा उनले सडक सञ्जाल, खानेपानी आपूर्ति र विद्युत् विस्तारलाई प्राथमिकता दिएका छन्। आगामी पाँच वर्षभित्र फलेवासका मुख्य गाउँ–टोलहरूमा पक्की सडक र स्वास्थ्य–शैक्षिक पहुँच सुधार्ने योजना रहेको बताए। देविस्थानका स्थानीयको घर–घरमा स्वच्छ खानेपानी र सिँचाइको सुविधा पुर्याउने कुरा पहिलो प्राथमिकताका रूपमा राखेको तिमिल्सिनाले बताए ।
युवाको सशक्तिकरणमा उनले डिजिटल अर्थतन्त्र र स्टार्टअप कार्यक्रम ल्याउने वाचा गरेका छन्। सूचना प्रविधिमा आधारित प्रशिक्षण, फ्रीलान्सिङ, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, कन्टेन्ट निर्माण जस्ता क्षेत्रमा युवा दक्षता वृद्धि गर्ने कार्यक्रम ‘आइसिटी हब’ मार्फत सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
मनहरी तिमिल्सिनाले भने, “स्थानीय विकास र समृद्धिको लागि राजनीतिक नेतृत्वले दीर्घकालीन योजना बनाउनु पर्छ। कृषिलाई आधुनिक बनाउने, पूर्वाधार विस्तार गर्ने र युवालाई आत्मनिर्भर बनाउने लक्ष्यमा हामी प्रतिबद्ध छौं।”
चुनावी सभामा सहभागी स्थानीयहरूले सडक, खानेपानी, सिँचाइ, कृषि सहुलियत र रोजगारका अवसरलाई प्राथमिकताका रूपमा अघि राखेका सुझाव दिएका थिए । मनहरी तिमिल्सिनाले जनताको सुझावलाई योजनामा समावेश गर्ने र सबै विकास गतिविधि पारदर्शी तरिकाले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले फलेवासको दीर्घकालीन विकास योजना अन्तर्गत कृषि, पूर्वाधार, स्वास्थ्य–शिक्षा, ऊर्जा, सिँचाइ र डिजिटल उद्यमलाई समन्वय गर्दै ग्रामीण क्षेत्रको समग्र समृद्धि सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
देविस्थानवासीले तिमिल्सिनालाई पर्वतले खोजेको जस्तै युवा जुजारु वौदिक र शालिन उम्मेदवार बल्ल पाएको भन्दै भारी मतदान गरेर वियजी गराउन अग्रसर हुने बताएका देविस्थानका स्थानिय राम पौडेलले जानकारी दिएका छन् ।





























प्रतिक्रिया