बागलुङ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङमा २२ उम्मेदवारले निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।
बागलुङ क्षेत्र नम्बर १ र २ मा उम्मेदवार बनेका २३ जनामध्ये हालसम्म २२ जनाले खाता सञ्चालनमा ल्याएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । क्षेत्र नम्बर १ का एक उम्मेदवारले भने खाता खोल्न बाँकी रहेको जानकारी दिइएको छ ।
उम्मेदवारको निर्वाचनसम्बन्धी आम्दानी र खर्च सोही खाताबाट गर्नुपर्ने व्यवस्था रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । निर्वाचन आयोगले बागलुङका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने मापदण्ड तय गरेको छ ।
निर्वाचन खर्च पारदर्शी बनाउन र अनावश्यक आर्थिक चलखेल नियन्त्रण गर्न खर्चसम्बन्धी अनुगमन गरिने जनाइएको छ । निर्वाचन प्रयोजनका लागि मात्र प्रयोग हुने अलग बैंक खाता खोल्ने व्यवस्था यसपटक कडाइका साथ लागू गरिएको बताइएको छ ।
पारदर्शीताका लागि सवैभन्दा पहिला नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे र समानुपातिक उम्मेदवार बलावती शर्माले खाता खोलेका थिए।





























प्रतिक्रिया