‘चेक एण्ड ब्यालेन्स’का चतुर खेलाडी प्रचण्ड [भिडियो]

‘चेक एण्ड ब्यालेन्स’का चतुर खेलाडी प्रचण्ड [भिडियो]


काठमाडाैं । यतिबेला केही निर्वाचन क्षेत्र राजनीतिक बहसको केन्द्र बनेका छन् । पूर्वी नेपालको झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकका पूर्वमेयर बालेन्द्र शाह आमनेसामने भएका छन् । बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने एमालेले ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । त्यसैगरी सर्लाही–४ पनि उत्तिकै चर्चामा छ, जहाँ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री पदका उम्मेदवार गगन थापा चुनाव लडिरहेका छन् ।

तर, यिनै चर्चाबीच एक क्षेत्र अपेक्षाकृत शान्त छ- रुकुम पूर्व जहाँबाट चुनाव लडिरहेका छन् नेपाली कम्युनिष्ट आन्दोलनका एक प्रमुख पात्र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनको चर्चा कम हुनुका दुई मुख्य कारण देखिन्छन् । पहिलो, भौगोलिक दूरी, रुकुमपूर्व दुर्गम छ, जहाँ राष्ट्रिय मिडियाको पहुँच सीमित छ । दोस्रो, प्रचण्डका प्रतिस्पर्धी उम्मेदवारहरू राष्ट्रिय स्तरका चर्चित अनुहार होइनन् । सम्भवत यतिवेला सबैभन्दा सुरक्षित अबस्थामा प्रचण्ड नै छन् ।

तर, भावी सत्ता समीकरणको हिसाबले हेर्ने हो भने रुकुम पूर्व पनि झापा- ५ र सर्लाही–४ भन्दा कम महत्वको छैन । किनभने प्रचण्डको यो चुनावी लडाई एक थान साँसद बन्नेसँग मात्र सम्बन्धित छैन । सांसद बनेपछि उनी प्रधानमन्त्री बन्ने सम्भावना त्यतिकै छ ।

एक दशक लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा प्रवेश गरेका प्रचण्ड २०६४ को पहिलो संविधानसभापछि शक्तिशाली प्रधानमन्त्री बने । तर, अनुभवको कमी, संस्थागत टकराव र भूराजनीतिक दबाबका कारण उनको पहिलो कार्यकाल ९ महिनामै सिमित रह्यो । त्यसयता उनी पटक-पटक प्रधानमन्त्री बने । रोचक कुरा के छ भने, उनले आफ्ना पूर्वगल्तीहरू सार्वजनिक रूपमा स्वीकार गरेका छन् । नेपाली राजनीतिमा आत्मालोचनाको संस्कार त्यति छैन । त्यसैले यस अर्थमा उनी फरक देखिन्छन् । यतिवेला उनी भूराजनीतिक विषयमा त्यति उत्ताउलो सार्वजनिक अभिव्यक्ति दिँदैनन् ।

तर, उनको शक्ति केवल अनुभवमा मात्र सीमित छैन । संयोजनकारी क्षमता उनको सबैभन्दा ठूलो पूँजी हो । नेपालको राजनीति बहुदलीय प्रतिस्पर्धा र गठबन्धनको गणितमा अडिएको छ । एउटा पार्टीको बहुमत एकदमै दुर्वल बन्दै गएको छ । यस्तो अवस्थामा जसले सहमति जुटाउन सक्छ, उ नै प्रधानमन्त्री बन्न सक्छ ।

उदाहरणको लागि २०७९ को निर्वाचनमा काँग्रेस पहिलो, एमाले दोस्रो र प्रचण्डको पार्टी तेस्रो भयो । रोचक कुरा के भने, चुनावी परिणामले तेस्रो बनेका प्रचण्डले जम्मा ३२ सिटको आधारमा प्रधानमन्त्री पड्काए । २०७४ अघिको सत्ता समीकरण होस् वा २०७९ पछिको सरकार निर्माण दुवैमा प्रचण्डले निर्णायक संयोजनकारी भूमिका खेले । उनले विचारधारात्मक कठोरतालाई त्यागिसकेका छन् । उनी व्यावहारिक राजनीतिमा विश्वास गर्छन् त्यसैले उनका सहकर्मीहरुको तुलनामा उनी राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । त्यसैले धेरैले उनलाई व्यवहारिक र गतिशिल नेताको रुपमा लिन्छन् ।

म्याजिक नम्बरको राजनीति

पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादी दोस्रो संविधानसभामा तेस्रो शक्तिमा झर्यो । तर तेस्रो दल हुनु सधैं कमजोरी होइन । नेपालको संसदीय अंकगणितमा जब पहिलो र दोस्रो दलबीच अविश्वास बढ्छ, तेस्रो दल निर्णायक बन्छ । प्रचण्ड यही ‘म्याजिक नम्बर’ का खेलाडी हुन्। त्यस अवस्थामा प्रचण्ड फेरि निर्णायक पात्र बन्न सक्छन् । डेढ वर्ष अगाडि प्रचण्डबाट वाक्क दिक्क भएर काँग्रेस र एमालेले मिलेर सरकार निर्माण गरे र प्रचण्डलाई बाहिर राखे ।

भूराजनीतिक सन्तुलनः परिपक्वताबाट सिकिएको पाठ

पहिलो कार्यकालको पतनमा बाह्य शक्ति–सन्तुलनको प्रभाव रहेको उनी आफैंले संकेत गरेका छन्। त्यसपछि उनले सार्वजनिक रूपमा भूराजनीतिक सन्तुलनलाई प्राथमिकता दिए । भारत, चीन र अमेरिका तीनैसँग सन्तुलित सम्बन्ध राख्ने उनको प्रयास देखिन्छ । उनी कुनै एक ध्रुवमा अत्यधिक झुकेको छवि बनाउनबाट जोगिएका छन्। यो कुरा बाह्य शक्तिका लागि पनि महत्त्वपूर्ण छ । नेपाल जस्तो भूराजनीतिक संवेदनशील देशमा प्रधानमन्त्री चयन आन्तरिक मात्र होइन, परोक्ष रूपमा बाह्य सन्तुलनसँग पनि जोडिएको हुन्छ । अहिले पनि निर्वाचनको केही समय अगाडी मात्र उनलाई भारतले बोलायो र भारतिय पक्षले उनीसँग नेपालको राजनीतिबारे लामो कुराकानी ग–यो ।

नयाँ र पुरानाबीचको सम्भावित ‘सेतु’

आजको राजनीति दुई धारमा बाँडिएको छ, परम्परागत दल र नयाँ उदाउँदै गरेका शक्ति । यदि स्पष्ट बहुमत आएन भने नयाँ शक्तिले काँग्रेस र एमालेलाई रोक्नका लागि प्रचण्डलाई अगाडी बढाउन सक्छन् । त्यसैगरी रास्वपालाई सरकारमा जानबाट रोक्नका लागि काँग्रेस र एमालेले उनलाई अगाडी बढाउन सक्छन् । यस अर्थमा उनी “सेतु” बन्न सक्ने नेता हुन्।

तर उनका सामु चुनौतीहरू पनि कम छैनन् । उनीमाथि बारम्बार सत्ता समीकरण बदल्ने आरोप लाग्छ । कतिपय विश्लेषक भन्छन्- प्रचण्ड हुँदासम्म स्थायित्व आउँदैन । यो धारणा किन बलियो भयो ? कारण यस्ता छन्-

● गठबन्धन परिवर्तनको इतिहास
● दीर्घकालीन नीतिगत स्थिरता नदेखिएको आलोचना
● युवा पुस्तामा वैकल्पिक नेतृत्वप्रतिको आकर्षण
● परम्परागत दलहरूप्रति बढ्दो जनअसन्तोष

विश्वसनीयताको संकट उनको सबैभन्दा ठूलो राजनीतिक चुनौती हो । उनको विशेशता शक्ति समीकरणमा छ, तर जनलहरमा छैन। यदि जनमत स्पष्ट रूपमा कुनै एक शक्तितर्फ ढल्यो भने, प्रचण्डको सम्भावना स्वतः घट्छ ।

रुकुमपूर्वः कत्तिको सुरक्षित क्षेत्र ?

रुकुमपूर्व माओवादी प्रभाव क्षेत्र मानिन्छ । संगठनात्मक रूपमा यहाँ उनको पकड बलियो देखिन्छ। तर प्रश्न यो होइन कि उनी सांसद जित्छन् कि जित्दैनन्। प्रश्न यो हो — अबको संसदको अंकगणित कस्तो बन्छ ? यदि संसद त्रिशंकु भयो भने, उनी फेरि ‘किङमेकर’ मात्र होइन, सम्भावित प्रधानमन्त्री नै बन्न सक्छन् ।

नेपालको राजनीति सम्भावना नै सम्भावनाको खेल हो । तर आजको दिनमा प्रचण्ड आन्दोलनका होइनन, समीकरणका नेता हुन् । उनको राजनीतिक शैली भिडन्तभन्दा सहमतिमा आधारित छ । तर, यही लचिलोपनका कारण उनले अवसरबादीको आरोप पनि खेप्ने गरेका छन् । विगतको इतिहासले भन्छ- नेपालको राजनीतिमा कहिलेकाहीँ पहिलो दलभन्दा निर्णायक तेस्रो दल हुन्छ । अब हेर्न बाँकी छ —फागुन २१ को निर्वाचनपछि पनि प्रचण्डसँग फेरि म्याजिक नम्बर होला त ?

Logo