भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। पोखरी संरक्षणसँगै पानीबोट सञ्चालन भएपछि यो क्षेत्र पर्यटकको रोजाइँमा परेको हो।
पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरी आवश्यक पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ। यहाँ दुई वटा साना पानीबोट सञ्चालनमा ल्याइएपछि पर्यटकको आवागमन थप वृद्धि भएको छ।
पर्यटकलाई लक्षित गरेर ‘पञ्चकन्या स्मृति उद्यान’ निर्माण गरिएको छ भने अन्य संरचनासमेत तयार पारिएका छन्। च्याङ्ग्रे पोखरीको संरक्षणसँगै घुम्न आउने आन्तरिक पर्यटक बढेको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।
उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायत पूर्वाधार विकासका कामहरू अगाडि बढाइएको छ। स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माण प्रक्रिया अघि बढाइएको छ।
पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी सावित्रा फुयालले बताइन्। परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ। खडेरीमा समेत पोखरी नसुक्ने विश्वास स्थानीयवासीमा रहेको छ।
पोखरीकै नामबाट च्याङ्ग्रे बजार लाग्ने गरेको छ। विश्राम, घुमफिर, तस्बिर खिच्ने र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए। संरक्षणपछि स्थानीय पर्यटनमा टेवा पुगेको उनको भनाइ छ।
विभिन्न पूजाआजाका अवसरमा पोखरी छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने गरेको छ। ऐतिहासिक र धार्मिक महत्व बोकेको यस स्थानको प्रभावकारी प्रचारप्रसार गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीको विश्वास छ।





























प्रतिक्रिया