२०८२ फागुन १७ देखि २३ सम्मको राशिफल ।।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता तपाईंको जीवनमा सकारात्मक परिवर्तनको संकेत छ। काम वा व्यवसायमा नयाँ जिम्मेवारी आउन सक्छ। सुरुवातमा चुनौती जस्तो लागे पनि तपाईंको मेहनतले राम्रो फल दिनेछ। जागिर परिवर्तन गर्नुभएको छ भने त्यो फाइदाजनक हुने देखिन्छ।
घर–परिवारको वातावरण न्यानो र सहयोगी रहनेछ। विशेषगरी आमासँग सम्बन्ध अझ मजबुत हुनेछ। परिवारसँग आर्थिक विषयमा छलफल हुन सक्छ। नवविवाहित दम्पतीले कुनै शुभ कार्यक्रमको योजना बनाउन सक्छन्।
सामाजिक प्रतिष्ठा बढ्नेछ। तपाईंको सल्लाहलाई मानिसहरूले महत्व दिनेछन्। नराम्रा मानिसहरूको संगतबाट टाढा रहनु राम्रो हुन्छ। पछाडि कुरा गर्ने व्यक्तिहरूसँग सावधान रहनुहोस्।
प्रेम जीवन सामान्य र मधुर रहनेछ। पुरानो मनमुटाव बिर्सेर अगाडि बढ्नु फाइदाजनक हुन्छ। केही समय भावनात्मक र संवेदनशील बन्न सक्नुहुन्छ, त्यसैले निर्णय सोचेर गर्नु राम्रो हुन्छ।
स्वास्थ्यतर्फ हल्का थकान वा मन खिन्न हुने अवस्था आउन सक्छ। आमाको स्वास्थ्यको चिन्ता हुन सक्छ। समयमै आराम र ध्यान गर्नुस्। धन–सम्पत्तिको अवस्था स्थिर रहनेछ। तर अनावश्यक खर्च नगर्नु राम्रो। जग्गा–जमिन वा सम्पत्तिसम्बन्धी कामका लागि यो हप्ता खास अनुकूल देखिँदैन। व्यवसाय सामान्य रहनेछ र काममा केही तनाव रहन सक्छ। आफ्ना सिद्धान्तसँग सम्झौता नगर्नुहोस्। यात्राको योग छ, विशेषगरी परिवार वा नजिकका साथीहरूसँग। बिहीबारदेखि शनिबारसम्म समय निकै शुभ रहनेछ। आइतबार कुनै महत्वपूर्ण वस्तु हराउने डर हुन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्।
उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।
वृष राशि
यो हप्ता वृष राशिका लागि धेरै शुभ र उत्साहजनक रहनेछ । व्यवसाय वा कार्यस्थलमा तपाईं उत्साहित र प्रसन्न महसुस गर्नुहुनेछ। अफिसमा सहकर्मीहरूको राम्रो साथ र सहयोग मिल्नेछ। तपाईंका प्रयासको प्रशंसा हुनेछ र तपाईंको विचारलाई महत्व दिइनेछ।
आर्थिक दृष्टिले यो हप्ता स्थिर रहनेछ। आम्दानी बढाउने योजना लाभदायी हुन सक्छ। लगानीका लागि समय मध्यम रूपमा अनुकूल छ। तर अनचाहिँ यात्रामा खर्च हुन सक्छ, त्यसैले खर्च व्यवस्थापनमा ध्यान दिनु राम्रो हुन्छ। नयाँ घर किन्ने सोच पनि बन्न सक्छ।
करियर र पढाइको क्षेत्रमा प्रगति हुनेछ। रचनात्मक काम, कला तथा प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। सरकारी जागिरमा हुनुहुन्छ भने मान–सम्मान बढ्ने संकेत छ। सामाजिक काममा सहभागी हुने अवसर पनि मिल्नेछ। पुराना साथीहरूसँग भेटघाट हुनेछ।
परिवारमा खुसीको वातावरण रहनेछ। बच्चा वा आमाबुबाबाट सुखद समाचार आउन सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। घरमा नयाँ पाहुनाको आगमनको सम्भावना पनि छ। प्रेम जीवन सामान्य रहनेछ, कहिलेकाहीँ सानो विवाद भए पनि आपसी समझदारीले छिट्टै समाधान हुनेछ। दाम्पत्य जीवनमा विश्वास कायम राख्न विशेष ध्यान दिनुहोस्।
स्वास्थ्य सामान्य रहनेछ तर थकान, बेचैनी वा मांसपेशी दुखाइ हुन सक्छ। नियमित व्यायाम, सन्तुलित आहार र योग–ध्यानले लाभ दिनेछ। सोमबारदेखि बुधबारसम्म समय अलि भारी महसुस हुन सक्छ, त्यसैले धैर्य राख्नुहोस्। शनिबार र आइतबार विशेष शुभ रहनेछ ।कसैलाई सजिलै विश्वास नगर्नुहोस्।तपाईंका कुरा अरूले गलत तरिकाले प्रस्तुत गर्न सक्छन्।सानो कुरामा घरमा तनाव हुन सक्छ, संयम अपनाउनुहोस्।अनावश्यक काममा समय बर्बाद नगर्नुहोस्।साना भाइबहिनीको स्वास्थ्यमा ध्यान दिनुहोस्।
उपाय- भगवान विष्णु को पूजा गर्नुहोस्।“ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नु शुभ रहनेछ।
मिथुन राशि
यो हप्ता मिथुन राशिका लागि मिश्रित फल दिनेछ। कामकाजमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले तपाईंलाई उत्साहित बनाउनेछ। तर समयको राम्रो व्यवस्थापन गर्न जरुरी छ। जागिर र व्यवसायमा स्थिरता रहनेछ, साथै ठूलो जिम्मेवारी पनि पाउन सक्नुहुन्छ। एआई र अनलाइन स्रोतहरूको राम्रो प्रयोग गरेर फाइदा लिन सक्नुहुन्छ। विवाद समाधान गर्न सफल हुनुहुनेछ। मंगलबार र बुधबार विशेष शुभ दिन रहनेछन्।
परिवारतर्फ कुनै सदस्यको स्वास्थ्य वा पढाइको विषयमा चिन्ता हुन सक्छ। सबैको पूर्ण सहयोग नपाए पनि आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। बडाबडाको सल्लाह उपयोगी हुनेछ। सानो कुरामा रिस नगर्नु राम्रो हुन्छ।
प्रेम जीवनमा नयाँ सुरुवात र रमाइला क्षण आउन सक्छन्। जीवनसाथीप्रति प्रेम अझ गहिरो हुनेछ। भित्री रूपमा सुख र सन्तुष्टि महसुस गर्नुहुनेछ। आर्थिक अवस्था सामान्य र स्थिर रहनेछ। अनावश्यक खर्च नगर्नुहोस्। कसैलाई उपहार दिन खर्च हुन सक्छ। जोखिमपूर्ण लगानीमा हतार नगर्नु राम्रो हुन्छ। व्यवसाय गर्नेहरूले आफ्नो टिममाथि राम्रो नियन्त्रण राख्नुपर्छ। इलेक्ट्रोनिक्ससँग सम्बन्धित काममा केही समस्या आउन सक्छ।
स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेष गरी पाचन र निद्रामा। धेरै तातो वा गरिष्ठ खाना नखानु राम्रो हुन्छ, नत्र ग्यासको समस्या हुन सक्छ। नियमित व्यायाम र ध्यानले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्नेछ। समग्रमा, धैर्य र सकारात्मक सोच राख्नुभयो भने हप्ताको अन्त्यतिर तपाईंको मेहनतको राम्रो फल प्राप्त हुनेछ।
उपाय- विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
कर्कट राशि
यो हप्ता कर्कट राशिका लागि भावनात्मक सन्तुलन र पारिवारिक विषयमा ध्यान दिनुपर्ने समय हो। ३ मार्चमा लाग्ने चन्द्र ग्रहणले तपाईंको धन, वाणी र परिवार सम्बन्धी पक्षमा प्रभाव पार्न सक्छ। त्यसैले बोलीमा नियन्त्रण राख्नुहोस् र धैर्यपूर्वक निर्णय लिनुहोस्। भावनामा बगेर ठूलो आर्थिक वा व्यक्तिगत निर्णय नगर्नु राम्रो हुन्छ।
कामकाजमा अपेक्षित परिणाम पाउन अतिरिक्त मेहनत गर्नुपर्नेछ। वरिष्ठ अधिकारीसँग नम्र व्यवहार राख्नुहोस्। भविष्यमा नयाँ अवसरको संकेत देखिन्छ।
खुद्रा व्यापार गर्नेहरूका लागि हप्ता राम्रो रहनेछ। लेनदेनमा सावधानी अपनाउनुहोस्, किनकि संचित धनमा असर पर्न सक्छ। आम्दानी सामान्य रहनेछ तर खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। पुरानो लगानीबाट लाभ हुन सक्ने सम्भावना छ। नयाँ सम्पत्तिमा लगानी गर्ने सोच बन्न सक्छ। बिहीबार र शुक्रबार अत्यन्त शुभ दिन रहनेछन्। परिवारमा सानो–मोटो विवाद आउन सक्छ, तर शान्त तरिकाले समाधान गर्नुस्। जीवनसाथीसँग समझदारी र विश्वास बढ्नेछ। विवाहयोग्य सन्तानको विवाहका विषयमा सक्रिय हुन सक्नुहुन्छ। युवाहरूलाई भविष्यको चिन्ता बढ्न सक्छ।
स्वास्थ्य मध्यम रहनेछ। पेट, छाती वा मुटुसम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस्। धेरै तनाव नलिनुहोस् र पर्याप्त निद्रा लिनुहोस्। ध्यान, योग र प्राणायाम लाभदायी हुनेछ। ताजा फलफूल र सागसब्जी खानुहोस् र प्रशस्त पानी पिउनुहोस्। सोमबार र मंगलबार केही सावधानी अपनाउनु राम्रो हुन्छ।
उपाय- सोमबार भगवान शिव को पूजा गरी जलाभिषेक गर्नुहोस्। “ॐ नमः शिवाय” मन्त्र जप गर्नु शुभ रहनेछ।
सिंह राशि
यो हप्ता सिंह राशिका लागि सुधार र सफलता ल्याउने खालको रहनेछ। अघिल्लो हप्ताका कठिन परिस्थिति माथि नियन्त्रण पाउन सक्नुहुनेछ । तपाईंका शुभचिन्तकहरूले प्रशंसा गर्नेछन् र सामाजिक प्रतिष्ठा बढ्नेछ। थोरै प्रयासमै धेरै महत्वपूर्ण काम सफल हुन सक्छन्। बेरोजगार व्यक्तिहरूले नयाँ जागिर पाउने सम्भावना छ। नयाँ व्यवसाय सुरु गर्न पनि समय अनुकूल छ। विदेशी कम्पनीमा काम गर्नेहरूका लागि हप्ता विशेष राम्रो रहनेछ। मंगलबार र बुधबार अत्यन्त शुभ दिन हुनेछन्।
कार्य क्षेत्रमा तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ, तर अहंकार नगर्नुहोस्। आफ्ना सिद्धान्तसँग सम्झौता नगर्नुहोस्, नत्र मान–सम्मानमा असर पर्न सक्छ। आइतबार कुनै महत्वपूर्ण वस्तु हराउने सम्भावना छ, त्यसैले सावधान रहनुहोस्। महँगा गरगहना वा सम्पत्ति किन्दा सोचेर निर्णय लिनुहोस्।
ग्रहण र केतुको प्रभावले मनमा अलि भ्रम वा डर उत्पन्न हुन सक्छ। सकारात्मक सोच राख्नु आवश्यक छ। अरूको बहकावमा आएर निर्णय नगर्नुहोस्। सम्बन्धमा देखिएका गलतफहमी हटाउने प्रयास गर्नुहोस्। सन्तानसँग सानो मतभेद हुन सक्छ र उनीहरूको स्वास्थ्यको चिन्ता पनि रहन सक्छ। बच्चाहरूलाई खराब बानीबाट जोगाउन ध्यान दिनुहोस्।
दाम्पत्य जीवनमा सुख र सन्तोष रहनेछ। जीवनसाथीको भावनात्मक साथ पाइनेछ। घरपरिवारमा सामञ्जस्य कायम रहनेछ। अफिसको कामले यात्रा गर्नुपर्ने हुन सक्छ। आर्थिक लाभको सम्भावना छ। सन्तानबाट शुभ समाचार मिल्न सक्छ।
स्वास्थ्य सामान्य रहनेछ, तर आँखामा जलन वा रक्तचाप सम्बन्धी समस्या हुनेहरूले विशेष ध्यान दिनुहोस्। नियमित व्यायाम र आराम आवश्यक छ ।सधैं सकारात्मक सोच राख्नुहोस्।महत्त्वपूर्ण निर्णय गर्दा धैर्य अपनाउनुहोस्।समग्रमा, संयम र आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यो हप्ता सिंह राशिका लागि उपलब्धिमूलक रहनेछ।
उपाय- प्रत्येक दिन भगवान सूर्यलाई जल अर्पण गरी सूर्याष्टक पाठ गर्नु शुभ हुनेछ।
कन्या राशि
यो हप्ता कन्या राशिका लागि मिश्रित फल दिनेछ। महत्वपूर्ण निर्णय लिन हतार नगर्नुहोस्। बोली र व्यवहारमा संयम राख्नु अत्यन्त जरुरी छ। रिस नियन्त्रणमा राख्नुहोस् र अनैतिक वा कानुनविरुद्धका कामबाट टाढा रहनुहोस्। समाजमा सम्मान प्राप्त हुने सम्भावना छ। नयाँ कपडा किन्न सक्ने योग पनि छ।
कार्य क्षेत्रमा प्रतिस्पर्धीसँग वाद–विवाद नगर्नुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्च नियन्त्रणमा राख्नुहोस्। अधिकारीहरूबाट अपेक्षित सहयोग नपाउन सक्नुहुन्छ। जागिर परिवर्तन गर्न चाहनुहुन्छ भने हतार नगर्नु राम्रो हुन्छ। पुराना ऋण वा कर्जाका कारण केही तनाव हुन सक्छ।
योजना बनाएर अघि बढ्नुभयो भने भविष्यमा राम्रो लाभ हुनेछ। शेयर बजार वा लगानीबाट फाइदा हुन सक्ने सम्भावना छ। रोकिएका काम फेरि सुरु हुन सक्छन्। बिहीबार र शुक्रबार नयाँ काम सुरु गर्न शुभ रहनेछ।
उच्च शिक्षासम्बन्धी प्रवेश परीक्षा वा अध्ययनमा सफलता मिल्न सक्छ। दार्शनिक विचारले मन प्रभावित हुन सक्छ। आफ्नो लक्ष्यप्रति स्पष्ट योजना बनाउन सक्नुहुन्छ। प्रेम सम्बन्धमा केही दूरी वा गलतफहमी आउन सक्छ। विपरीत लिङ्गीसँग भेटघाट बढ्न सक्छ, तर सावधानी अपनाउनुहोस्। सन्तानको व्यवहारबाट खुसी हुनुहुनेछ। विवाहयोग्य व्यक्तिको विवाह तय हुन सक्ने सम्भावना छ। परिवारमा सहयोगको भावना रहनेछ।
स्वास्थ्य सामान्य रहनेछ तर शारीरिक थकान र मानसिक चिन्ता हुन सक्छ। पहिलेबाट बिरामी भएकाहरूको स्वास्थ्यमा सुधार आउने संकेत छ। कामको दबाबले मन खिन्न हुन सक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस्। खराब सोच भएका व्यक्तिबाट टाढा रहनुहोस्। अत्यधिक सिद्धान्तवादी भन्दा व्यवहारिक बन्नुहोस्। कामको चापले मूड बिग्रन सक्छ, संयम अपनाउनुहोस्।
उपाय- होलिका दहनको आगोमा नरिवल र सप्तधान्य अर्पण गर्नु शुभ मानिन्छ।
तुला राशि
यो हप्ता तुला राशिका लागि भाग्यशाली र सकारात्मक रहनेछ। हप्ताको सुरुवात शुभ समाचारबाट हुनेछ। परिवारसँग यात्रा गर्ने सम्भावना छ। परिवारमा खुसीको वातावरण रहनेछ र सन्तान सुख प्राप्त हुनेछ। सन्तानको पढाइका विषयमा केही चिन्ता भए पनि अन्त्यमा राम्रो नतिजा आउनेछ।
व्यवसायमा वृद्धि हुनेछ। धेरै स्रोतबाट धन लाभ हुने योग छ। काम योजनाबद्ध तरिकाले गर्नुभयो भने राम्रो फाइदा हुनेछ। नयाँ प्रोजेक्ट सुरु गर्न चाहनुहुन्छ भने नजिकका साथीको सल्लाह लिनु राम्रो हुन्छ। जागिर परिवर्तनको प्रयास गर्दै हुनुहुन्छ भने राम्रो अवसर आउन सक्छ। आय स्थिर रहनेछ, थप आम्दानीका लागि प्रयास गर्नुपर्छ। सम्पत्तिको किनबेच गर्दा सावधानी अपनाउनुहोस्।
यो हप्ता प्रेम सम्बन्धका लागि अनुकूल छ। तपाईं रोमान्टिक मुडमा रहनुहुनेछ। दाम्पत्य जीवनमा समय दिनुहुनेछ र सम्बन्ध अझ मजबुत हुनेछ। कसैलाई प्रपोज गर्न चाहनुहुन्छ भने बुधबार शुभ दिन मानिन्छ। जीवनसाथीसँग संवाद कायम राख्नुहोस्, नत्र सानो गलतफहमी आउन सक्छ।
स्वास्थ्य सामान्य रहनेछ। योग र ध्यान गर्नुभयो भने मानसिक शान्ति मिल्नेछ। आफ्नो क्षमताभन्दा बढी काम नगर्नुहोस्, नत्र स्वास्थ्य बिग्रन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। फलामका सामग्री प्रयोग गर्दा पनि ध्यान दिनुहोस् ।व्यर्थका काममा समय नखर्चनुहोस्।रियल इस्टेट व्यवसायमा केही समस्या आउन सक्छ, सोचेर निर्णय लिनुहोस्।विचारमा दुविधा आउन सक्छ, धैर्य राख्नुहोस्।समग्रमा, आइतबारदेखि बुधबारसम्म समय विशेष राम्रो रहनेछ। धैर्य, समझदारी र सकारात्मक सोचले यो हप्ता सफल र सुखद हुने छ ।
उपाय- दैनिक श्रीसूक्त पाठ गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
यो हप्ता वृश्चिक राशिका लागि सुरुमा मिश्रित रहनेछ। बन्न लागेको काममा केही अवरोध आउन सक्छ, जसले मन अलि खिन्न बनाउन सक्छ। तर निराश नहुनुहोस्। धैर्य राखेर आफ्नो काम आफैं पूरा गर्न प्रयास गर्नुहोस्। आफ्ना योजना सबैलाई नबताउनु राम्रो हुन्छ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय हुन सक्छन्, त्यसैले सूझबूझका साथ काम गर्नुहोस् र वरिष्ठ अधिकारीसँग राम्रो सम्बन्ध कायम राख्नुहोस्।
हप्ताको सुरुमा भाग्यको साथ मिल्नेछ, रोजगारी र यात्राका अवसर बन्न सक्छन्। बीचतिर व्यापारमा उतार–चढाव आए पनि अन्त्यमा सफलता मिल्नेछ। अचानक धन लाभ हुन सक्छ, जसले उत्साह बढाउनेछ। नयाँ आम्दानीका स्रोत खुल्न सक्छन्। व्यवसायमा मेहनत बढी गर्नुपर्नेछ। साझेदारीको काममा तालमेल मिलाउन कठिन हुन सक्छ। मंगलबारदेखि शुक्रबारसम्म समय अत्यन्त शुभ रहनेछ। IT र मिडियासँग सम्बन्धित व्यक्तिले कडा मेहनत गर्नुपर्नेछ।
आर्थिक अवस्था समग्रमा राम्रो रहनेछ। घरका लागि किनमेलमा खर्च हुन सक्छ। कोर्ट–कचहरीसम्बन्धी विषयमा विवेक प्रयोग गर्नुहोस्। लामो दूरीको यात्रा नगर्नु राम्रो हुन्छ। पहेँलो वस्तु आफूसँग राख्नु शुभ मानिन्छ।
घरायसी मामिलामा केही तनाव वा झगडाको संकेत छ, त्यसैले शान्त रहनुहोस्। प्रेम सम्बन्ध र सन्तान पक्ष भने राम्रो रहनेछ। घरमा बच्चाहरूको विशेष ध्यान दिनुहोस्। जीवनमा आफ्नो रुचिअनुसार काम गर्ने इच्छा बढ्नेछ। तनाव धेरै नलिनुहोस्। बदलिँदो मौसमका कारण स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। पर्याप्त आराम गर्नुहोस्।करियरमा सानो अनिश्चितता आउन सक्छ, आत्मविश्वास घट्न नदिनुहोस्।धर्म–कर्मप्रति रुचि कायम राख्नुहोस्।समग्रमा, धैर्य र सकारात्मक सोच राख्नुभयो भने यो हप्ता वृश्चिक राशिका लागि उपलब्धिमूलक र लाभदायी बन्न सक्छ।
उपाय- प्रत्येक दिन हनुमान चालीसा पाठ गर्नु शुभ हुनेछ।
धनु राशि
यो हप्ता धनु राशिका लागि मेहनत र धैर्यको परीक्षा हुने समय हो। हप्ताको सुरुमा आलस्य छोडेर काममा लाग्नुपर्छ । काम टार्ने बानीले राम्रो अवसर गुम्न सक्छ। समय र सम्बन्धको कदर गर्नुहोस्। परिवार र आफ्नै स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मेहनत गर्नुभयो भने सफलता आफैं आउनेछ र कार्यक्षेत्रमा उपलब्धिले आत्मविश्वास बढाउनेछ। सरकार वा उच्च पदमा रहेका व्यक्तिहरूको सहयोगले आर्थिक लाभ हुन सक्छ।
महत्त्वपूर्ण काम अन्तिम समयमा अड्किन सक्छ, त्यसैले अत्यधिक आत्मविश्वास नराख्नुहोस्। बीचतिरको समय निकै शुभ रहनेछ। रियल इस्टेट व्यवसाय गर्नेहरूका लागि हप्ता उत्कृष्ट छ, पहिलेको मेहनतको राम्रो परिणाम पाइनेछ। व्यापारमा अपेक्षाभन्दा बढी लाभ हुन सक्छ। विदेश वा मार्केटिङसँग सम्बन्धित काममा फाइदा हुनेछ। जागिरमा केही अनिश्चितता आउन सक्छ, तर धैर्य राख्नुहोस्। पुरानो ऋण तिर्न गाह्रो हुन सक्छ, अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्।
विदेशमा अध्ययन गर्ने योजना बनाएकाहरूका लागि बाटोमा आएका बाधा हट्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकाहरूका लागि हप्ता सामान्य रहनेछ।
प्रेम सम्बन्ध सामान्य र सन्तुलित रहनेछ। प्रेमी/प्रेमिकासँग समय बिताउने अवसर मिल्नेछ। हप्ताको अन्त्यतिर परिवारसँग समय बिताउन मन लाग्नेछ। घरमा कुनै नजिकको पाहुना आउन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। साथीहरूको व्यवहार अलि स्वार्थी देखिन सक्छ।
सामान्य स्वास्थ्यमा ध्यान दिनुहोस्। सानो चोटपटक लाग्ने सम्भावना छ, सावधानी अपनाउनुहोस्। व्यक्तिगत र पेशागत जीवनबीच सन्तुलन मिलाउन अलि गाह्रो हुन सक्छ, तर धैर्य राख्नुहोस्।
हप्ताको सुरुमा महत्त्वपूर्ण निर्णय गर्दा अलमल हुन सक्छ।वाणीमा संयम राख्नुहोस्।बेवजह चिन्ता नगर्नुहोस्।खर्च नियन्त्रण गर्नुहोस्।
उपाय- हरेक दिन भगवान विष्णुलाई प्रसन्न पार्न “ॐ नमो नारायणाय” मन्त्र जप गर्नु लाभदायी हुनेछ।
मकर राशि
यो हप्ता अवसर र चुनौतीहरूको मिश्रण रहनेछ। हप्ताको सुरुवातमा तपाईंले आफ्ना कार्यहरू सोच–विचारपूर्वक अगाडि बढाउन आवश्यक छ। तपाईंको आसपास मित्र वा सहकर्मीको व्यवहारमा लुकेका शत्रुहरू हुन सक्छन्, जसबाट दूरी बनाउनु लाभदायी हुनेछ। लापरवाही गर्दा आलोचना वा समस्या आउन सक्छ।
कार्य क्षेत्रमा सक्रिय रहनु आवश्यक छ। तपाईंले जिम्मेवारीपूर्वक काम गर्दा अधिकारीहरूबाट प्रशंसा वा प्रमोशनको अवसर पाउन सक्नुहुन्छ। यदि उच्च शिक्षा वा अनुसन्धानसँग सम्बन्धित काममा लाग्नुभएको छ भने तपाईंले मनोनुकूल परिणामका लागि अझै केही समय प्रतीक्षा गर्नु पर्न सक्छ। आर्थिक मामिलामा योजनाबद्ध ढंगले काम गर्नु लाभदायी हुनेछ। सम्पत्ति, लेनदेन वा व्यापारसँग सम्बन्धित काममा सजग रहनु आवश्यक छ।
स्वास्थ्यको दृष्टिले यो हप्ता मिश्रित रहनेछ। मौसम परिवर्तन वा पुरानो रोगहरूले असुविधा दिन सक्छ। हड्डी, जोर्नी वा सामान्य थकानको समस्या देखिन सक्छ। मानसिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, तनाव र चिन्ताले तपाईंलाई प्रभावित गर्न सक्छ। नियमित योग, ध्यान र पर्याप्त विश्राम लाभदायी हुनेछ।
प्रेम र वैवाहिक जीवनमा यो हप्ता सामान्यतः सकारात्मक रहनेछ। सिंगल जातकले प्रेमको प्रस्ताव दिन सक्ने अवसर पाउनेछन्। वैवाहिक जीवनमा जीवनसाथीसँग समझदारी र तालमेल रहनेछ। परिवारसँग समय बिताउने अवसर प्राप्त हुनेछ।
कार्य क्षेत्रमा सहकर्मीहरूसँग तालमेल बनाउने प्रयास गर्नु लाभदायी हुनेछ। विवाद वा बहसमा नफस्ने, जोखिमपूर्ण कार्य वा कानूनी मामिलामा सजग रहनु आवश्यक छ।
सप्ताहको मध्य र अन्त्यमा तपाईंले नेतृत्व क्षमता र अनुभवको सदुपयोग गर्न सक्नुहुनेछ। नयाँ परियोजना वा व्यापारिक योजनामा तपाईंले सिर्जनात्मक सोच र कार्यनीति प्रयोग गर्न सक्नुहुनेछ।
उपाय- हनुमानजीको मन्दिरमा गएर हनुमान चालीसा पाठ गर्नु लाभदायी हुनेछ।
कुम्भ राशि
यो हप्ता अवसर र चुनौतिहरूको मिश्रण रहनेछ। हप्ताको सुरुवातमा तपाईंलाई करियर र व्यवसायमा लाभ र उन्नतिको अवसर प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न, व्यापार विस्तार गर्न वा रोजगारीसँग सम्बन्धित निर्णय लिन यो समय अनुकूल छ। तपाईंको नजिकका मित्र, शुभचिन्तक र परिवारको सहयोगले तपाईंका योजना सफल बनाउन मद्दत गर्नेछ।
व्यवसायमा यात्रा गर्नुपर्ने हुन सक्छ, तर ती यात्रा लाभदायी र सुखद हुनेछन्। यदि तपाईं साझेदारीमा व्यवसाय गर्दै हुनुहुन्छ भने पार्टनरको राय र सुझावलाई ध्यान दिनु आवश्यक छ। नयाँ प्रस्ताव र अवसरहरूले तपाईंको आय बढाउनेछन्। निजी रोजगारीमा लागेका जातकले आफ्नो क्षमताअनुसार उच्च पद वा उन्नतिको अवसर पाउन सक्छन्। अनुसन्धान, शिक्षा वा नयाँ परियोजनामा काम गर्नेहरूलाई पनि राम्रो परिणाम प्राप्त हुने सम्भावना छ।
यो साता आर्थिक पक्ष सामान्यतया राम्रो रहनेछ। तपाईंले मेहनत गरेका कार्यका परिणामहरू प्राप्त हुनेछन्। तर खर्च पनि बढ्न सक्छ, त्यसैले अनावश्यक खर्चमा नियन्त्रण राख्नु पर्छ। सम्पत्ति र लेनदेनमा सजग रहनु लाभदायी हुनेछ।
स्वास्थ्यको दृष्टिले यो हप्ता मिश्रित रहनेछ। पुराना रोगहरू सताउन सक्छन् वा मौसम परिवर्तनका कारण सामान्य स्वास्थ्यमा असर पर्न सक्छ। मानसिक स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण छ। तनाव, उदासी वा चिन्ताले तपाईंको कामकाज र दैनिक जीवनमा असर पुर्याउन सक्छ। नियमित योग, ध्यान र स्वस्थ जीवनशैली अपनाउन लाभ हुनेछ।
प्रेम र वैवाहिक जीवनको दृष्टिले यो हप्ता सकारात्मक रहनेछ। सिंगल जातकले आफ्नो प्रेम व्यक्त गर्ने अवसर पाउनेछन्। वैवाहिक जीवनमा प्रेम, समझदारी र तालमेल रहनेछ। जीवनसाथीको सुझाव र समर्थनले तपाईंलाई लाभ हुनेछ। परिवारसँग समय बिताउने र घुमफिरको योजना बनाउने अवसर पनि प्राप्त हुनेछ।
कार्य क्षेत्रमा सहकर्मीहरूसँग मिलाजुला सम्बन्ध रहनेछ। तर अन्यको काममा अनावश्यक हस्तक्षेप नगर्नुहोस्। विवाद र बहसबाट टाढा रहनु फाइदाजनक हुनेछ। हप्ताको मध्य र अन्त्यमा तपाईंले आफ्नो क्षमता र नेतृत्व गुणको राम्रो प्रदर्शन गर्ने अवसर पाउनेछ।घरमा बहस वा असमझदारी हुन सक्छ। कानूनी मामिलाहरूमा लापरवाही नगर्नुहोस्। वाहन चलाउँदा वा जोखिमपूर्ण कार्य गर्दा सतर्क रहनु लाभदायी हुनेछ।
उपाय- सूर्यदेवलाई जलमा हल्दी मिसाएर अर्घ्य दिनु लाभदायी हुनेछ।
मीन राशि
यो हप्ता खर्च र सावधानीको हप्ता रहनेछ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक छ । सम्पत्ति वा कानुनी मामिलामा अदालतको चक्कर लाग्न सक्छ, त्यसैले योजना बनाइ काम गर्नु लाभदायी हुनेछ । मानसिक तनाव वा चिन्ताबाट बच्न प्रयास गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपान र दिनचर्या नियमित राख्नु लाभदायी हुनेछ।
कार्य क्षेत्रमा सबै परिणाम आफ्नो अनुसार नआउँदा निराशा हुन सक्छ, तर तपाईंले हिम्मत र उत्साह कायम राख्नुपर्नेछ। यी सबै कठिनाइहरू अस्थायी छन्। प्रतियोगी परीक्षा वा पेशागत तयारीमा लाग्ने जातकहरूले लापरवाही नगरी मेहनत जारी राख्नुपर्छ, यसबाट सफलता अवश्य प्राप्त हुनेछ।
यो हप्ता जीवनसाथीसँग सहकार्य र समझदारी अत्यन्त आवश्यक हुनेछ। सम्भावित तीर्थ यात्रा वा धार्मिक कार्यक्रममा सहभागी हुन सकिन्छ। ससुराल वा आफन्त पक्षको सहयोग प्राप्त हुनेछ। जीवनका समस्याहरूमा जीवनसाथीसँग खुला संवाद गर्नाले समाधान निकाल्न सजिलो हुनेछ।
कार्य क्षेत्रमा नयाँ प्रयोग वा योजना लागू गर्न सकिन्छ। सहकर्मीहरूको सहयोगले काममा सकारात्मक परिणाम आउनेछ। आफ्नो रणनीति र नीतिहरूको मूल्याङ्कन गर्नु लाभदायी हुनेछ। प्रशंसा र आलोचना दुवै पाइने सम्भावना छ। कानुनी मामिलामा सफलता प्राप्त हुन सक्छ। प्रेम वा वैवाहिक सम्बन्धमा पनि सकारात्मक परिणाम मिल्ने योग छ। आयमा वृद्धिको सम्भावना छ। कार्यक्षेत्रमा शान्ति रहनु लाभदायी हुनेछ। विशेष गरी गुरुवार र शुक्रवार अत्यन्त शुभ रहनेछन्।
सप्ताहको सुरुवातमा प्रेम सम्बन्धमा मतभेद उत्पन्न हुन सक्छ। कपट र छलकपटबाट टाढा रहनु आवश्यक छ। नयाँ कारोबारी सम्झौतामा दस्तावेजलाई ध्यानपूर्वक पढ्नु पर्छ। पेटमा समस्या वा जलन हुन सक्नेछ, त्यसको लागि पर्याप्त पानी पिउनु लाभदायी हुनेछ। जीवनसाथीको साथ बाहिरी यात्रा वा मनोरञ्जनको योजना हुन सक्छ, तर कहिलेकाहीँ त्यसलाई स्थगित गर्नुपर्ने स्थिति आउन सक्छ।
छैठौं भावको ग्रहणले शत्रु माथि विजय दिलाउन सक्छ र पुराना ऋण चुकाउने अवसर ल्याउन सक्छ। शनि ग्रहको प्रभावले कार्यमा ढिलाइ हुन सक्नेछ, तर अन्ततः परिणाम सन्तोषजनक रहनेछ। पारिवारिक सम्पत्ति सम्बन्धी तनाव उत्पन्न हुन सक्छ, जसको समाधान गुरुको कृपाले हुनेछ । पैतालाको समस्या वा जलसँग सम्बन्धित समस्या देखिन सक्छ, त्यसैले सतर्क रहनु लाभदायी हुनेछ।
उपाय- भगवान् विष्णुको पूजा तथा नियमित साधना गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।





























प्रतिक्रिया