मझौलेका किसान लसुनखेतीमा आकर्षित

मझौलेका किसान लसुनखेतीमा आकर्षित

केन्द्रबिन्दु
45
Shares

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन्। पहिले घरायसी प्रयोजनमा सीमित लसुनखेती अहिले आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ।

ग्रामीण सडक सञ्जाल विस्तार भएपछि उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेको छ। सडक पुगेपछि व्यापारी गाउँमै आएर लसुन खरिद गर्न थालेकाले किसानलाई बजारको चिन्ता कम भएको छ। मझौलेकी किसान विजया लुइँटेलले करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहेकी छन्।

“पहिले बजारसम्म लैजान गाह्रो हुन्थ्यो, अहिले व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ,” उनले भनिन्। गत वर्ष लसुन प्रतिकिलो २०० रुपैयाँसम्म घरबाटै बिक्री भएको थियो। उत्पादन लागत कम र बजार मूल्य राम्रो भएकाले आम्दानी सन्तोषजनक भएको उनको अनुभव छ।

मझौलेको माटो र हावापानी लसुनखेतीका लागि उपयुक्त मानिन्छ। राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले किसानले यसलाई सुरक्षित नगदे बालीका रूपमा लिन थालेका छन्। पछिल्लो समय छिमेकी बजार र जिल्ला बाहिरबाट पनि माग आउन थालेको छ।

नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमा प्रभाव देखिन थालेको छ। साना किसानका लागि पनि लसुनखेती लाभदायक विकल्प बन्दै गएको छ। स्थानीय तहले सिँचाइ, प्राविधिक सहयोग र कृषि आधुनिकीकरणका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

पूर्वाधार विकास र बजार पहुँच विस्तारसँगै मझौलेमा कृषिमा व्यावसायिक सोच बढ्दै गएको छ। लसुनखेतीबाट भएको आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै गाउँबाट बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo