म्याग्दी। अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उक्त योजनाका लागि गत पुसमा भण्डारी निर्माण सेवासँग ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आगामी चैतसम्म म्याद रहेको योजना पुसदेखि काम थालेर दुई महिनामै सम्पन्न गरिएको हो।
बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो भागमा स्तरोन्नति गरिएको छ। तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरमा विस्तार गरिएको छ। साथै नाली र पर्खाल निर्माण, ३४० मिटर ढलान तथा ६० मिटर ग्राभेल गरिएको गाउँपालिकाले जनाएको छ।
निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीका अनुसार पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापनका कारण योजना समयअघि सम्पन्न भएको हो।
यो सडक २०६६ सालमा स्थानीयवासीले करिब एक करोड रुपैयाँ चन्दा संकलन गरी आठ दशमलव दुई किलोमिटर दूरीमा ट्र्याक खोलेका थिए। त्यसयता सामान्य मर्मतका भरमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुँदै आएको थियो। साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अहिले स्तरोन्नति गरिएको हो।
भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माणअघि नै ट्र्याक खुलेको यस सडकमा यसपटक हालसम्मकै बढी बजेट विनियोजन गरिएको हो। तत्कालीन जिविसको १० लाख अनुदानसहित गाउँले तथा बाहिर बस्ने दोबावासीबाट ९१ लाख रुपैयाँ चन्दा संकलन गरी प्रारम्भिक निर्माण गरिएको थियो।
गत वर्ष गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँबाट स्तरोन्नति सुरु गरेको थियो भने चालु वर्षमा २५ लाख रुपैयाँ थप विनियोजन गरेको छ। सडक स्तरोन्नतिपछि दोवाका करिब ३०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आगामी वर्ष पनि योजनालाई निरन्तरता दिने र सङ्घीय तथा प्रदेश सरकारसँग थप बजेट माग गर्ने जनाएको छ।





























प्रतिक्रिया