मानभवनमा ओली र प्रचण्डलाई सकस भएको एउटा विषय

मानभवनमा ओली र प्रचण्डलाई सकस भएको एउटा विषय

केन्द्रबिन्दु
0
Shares

पार्टी एकताको विषयमा छलफल गर्न बुधबार बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बैठकमा नेतृत्वको विषय मिलाउन सकस परेको छ ।
ओली र दाहालबीचको ‘वान–टू–वान’ बैठकमा नेतृत्वको विषय मिलाउन नसकिएपछि तीनवटा विकल्पमा छलफल भएको छ । मानभवनस्थित एक निजी घरमा भएको छलफलपछि दाहालले पार्टीको बैठकमा ओलीसँगको छलफल ब्रिफिङ गरेका छन् ।

दाहाल निकट स्रोतका अनुसार मूल नेतृत्वको विषयमा तीन विकल्पमा छलफल भएको छ । विशेषगरी ओली र दाहालको व्यवस्थापनबारे ती नेताले भने, ‘एक जना प्रधानमन्त्री र दुई जना पार्टी सह–अध्यक्ष, एक जना प्रधानमन्त्री र अर्को अध्यक्ष, एकजना प्रधानमन्त्री र अर्को अध्यक्ष मण्डल ।’ तीमध्ये पहिलो विकल्पमा ओली लचक देखिएका छन्, दाहालले भने ओली प्रधानमन्त्री भए आफू एकल अध्यक्ष भए राम्रो भनेका छन् । माओवादीका ती नेताको भनाइ छ– तर हाम्रो अध्यक्ष पनि धेरै रिजिड हुनुहुन्न ।

मूल नेतृत्वको विषय मंगलबार बस्ने शीर्ष नेताको वान टू वान बैठकले टुंगो लगाउनेछ । त्यसपछि वाम गठबन्धन एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एकता संयोजन समितिको बैठकले ओली–दाहाल सहमतिलाई औपचारिकता दिनेछ भने अन्य नेताको व्यवस्थापन, भ्रातृ संगठनको नेतृत्वलगायतको विषयमा सहमति खोज्नेछ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले मूल नेतृत्वको समस्या समाधान भएलगत्तै पार्टी एकता घोषणा हुने दाबी गरिन् । ‘नेतृत्वको विवाद सम्भवत: भोलि मिल्छ,’ उनले भनिन्, ‘त्यसपछि एकताले गति लिन्छ ।’

ओली र दाहालबीच पार्टी एकता र सरकार गठनबारे छलफल भएको थियो ।
बिहान सवा १० बजेदेखि दुई नेताबीच छलफल भएको थियो । शनिबार चितवनमा माओवादी अध्यक्ष दाहालले आवश्यक परे आफूले नयाँ फड्को मार्न सक्ने बताएपछि एमालेले चासोसाथ एकता प्रक्रियालाई अगाडि बढाएको छ ।

एमालेसँगको वार्ता सकारात्मक भएसँगै सबै प्रदेशमा मन्त्रिपरिषद् गठनमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । केन्द्रमा एमालेसँगको सम्बन्धमा तित्तताजस्तो देखिएपछि प्रदेश नम्बर ३ मा माओवादी सरकारमा सहभागी नहुने बताएको थियो । अन्तिम समयमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आन्तरिक मामिला मन्त्रालयमा शपथ लिएका छन् ।

असोज १७ मा दुई पार्टीबीच चुनावी तालमेल भएको घोषणासँगै एमाले र माओवादी केन्द्रले बाम गठबन्धन बनाएका थिए ।

Skip This
Skip This
Logo