काठमाडौं। फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीहरूलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रूपमा हिँड्डुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आएकी रमा केसीले बताइन् ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारका काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले नछुने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसँगै दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिएकी र व्रजवासीले उनलाई जलाएर फागु महोत्सव मनाउने परम्परा सुरु भएको धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. तोयराज नेपालले जानकारी दिए ।
राम्रोसँग तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोगले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने बताइएको छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु नष्ट हुने भएकाले यसको आयुर्वेदिक महत्व रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा. वंशदीप शर्मा खरेलले बताए ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदैछ र त्यहाँ सार्वजनिक बिदा दिइएको छ ।
यस पर्वका अवसरमा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने जस्ता विकृति घट्दै गएका छन् । यस दिन विशेष गरी भाङ मिसाइएका खानेकुरा खाई विभिन्न रङले रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह बिहानदेखि साँझसम्म आ–आफ्नो क्षेत्रमा घुम्ने चलन छ ।
थकाली समुदाय रङ्गीबिरङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफन्त र नातेदार भेला भई मीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न नाम र शैलीमा मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ नामले मनाइने यस पर्वमा एकापसमा सुगन्धित जल छर्की विशेष प्रकारका रङ्गीचङ्गी आभूषण लगाएर खेलिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले मनाइने यस पर्वमा नयाँ लुगा र गहना लगाइन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने पर्वमा मानिसहरूले हास्यात्मक वेशभूषा लगाई प्रतियोगिता आयोजना गर्छन् र विजेतालाई पुरस्कार दिइन्छ ।
श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा गरेर तथा इजिप्टमा हास्य, विनोद र नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक–फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा रहेको पाइन्छ । सबै ठाउँमा आपसी सद्भाव र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो पर्व मनाउने गरिएको छ ।





























प्रतिक्रिया