विश्व समुदायमै नेपालको संस्कृति अनुकरणीय छ : दाहाल

विश्व समुदायमै नेपालको संस्कृति अनुकरणीय छ : दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित नेपाली समाज र संस्कृति संसारकै लागि अनुकरणीय र प्रेरणादायी भएको बताएका छन् ।

फागु पुर्णिमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, ‘यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।’

फागुपूर्णिमा (होली) नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताएका छन् ।

‘हामी यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ,’ अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रुपमा सम्पन्न गर्न सबैको इमान्दार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।’

Skip This
Skip This
Logo