काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकता अनुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनार्इलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकता अनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे ।
‘म काठमाडौं गएपछि ओलीजीसँग कुराकानी हुन्छ । मेरो चाहना छ, दुई–तीन दिन भित्र टुंगियोस्, यो कुरा नलम्बियोस्,’ प्रचण्डले भने, ‘पार्टी एकीकरण लम्बिएला जस्तो भन्दा पनि टुंगिएला जस्तो मैले देखिरहेको छु ।’ एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिन भित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटी सहित वार्तामा बस्ने तयारी गरेको छ ।
दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्याउने निष्कर्ष निकालेका हुन् । यसैविच एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल हुने भएको छ । आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । ‘उहाँहरू बीच सोमबार कुराकानी हुन सक्ने सम्भावना छ,’ ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया