सिधा सडकले जोड्यो ढोरपाटन–तकसेरा

सिधा सडकले जोड्यो ढोरपाटन–तकसेरा

केन्द्रबिन्दु
414
Shares

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ।

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा सिधा सडकले जोडिएको हो। दुबै जिल्लाबाट सडक निर्माण भइरहेका बेला निसेलढोर नजिकै मनिमर्फेसमा सडक जोडिएको ढोरपाटन–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए। लामो समय रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयको अनुमति पाएपछि सडक जोडिएको उनको भनाइ छ।

सडकले दुई जिल्ला जोड्दा पश्चिम बागलुङ र पूर्वी रुकुमको यात्रा छोटिएको छ। यसअघि बुर्तिबाङ बजारदेखि निसेलढोर जोडिएको थियो। एक दशकअघि निसेलढोर सडकले मात्र जोडिएको थियो र त्यसमाथि पुग्न सम्भव थिएन। बुर्तिबाङ–ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले बताए।

“अब बुर्तिबाङदेखि ६८ किलोमिटर यात्रा गरेपछि तकसेरा पुग्न सकिने छ। यसअघि तकसेराका स्थानीयले मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो दूरी यात्रा गर्नुपर्ने हुन्थ्यो, तर ढोरपाटन हुँदै सडक जोडिएपछि दूरी छोटियो,” उनले बताए।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताए। सिकार आरक्षले अनुमति नदिँदा सडक निर्माण वर्षौंदेखि रोकिएको थियो।

निसेलढोरतर्फ सडकको ‘ट्र्याक’ खोल्न चालु आर्थिक वर्षमा रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो र सोही बजेटले सडक निर्माण सम्पन्न भएको हो। अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म यात्रा छोटो हुनेछ र स्थानीय उत्पादन बजारीकरणमा सहजता आउने कायतले बताए।

Skip This
Skip This
Logo