भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान सुरु

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान सुरु

केन्द्रबिन्दु
21
Shares

भोजपुर। मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ।

गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको छ। रु २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय मिटर सिँचाइ कुलो, विश्रामस्थल तथा शौचालय निर्माण जस्ता काम सम्पन्न भएका छन्। संरक्षण गरिएका मुहान हाल खानेपानी र सिँचाइ दुवै प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

वडाध्यक्ष रामु थापामगरले भने, “प्राकृतिक प्रकोप र बढ्दो मानवीय गतिविधिका कारण धेरै मुहान सुक्दै गएका छन्। त्यसैले दीर्घकालीन रूपमा पानीको स्रोत जोगाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ। रिचार्ज पोखरीले भविष्यमासमेत मुहान सुक्न नदिन सहयोग पु¥याएको छ।”

स्थानीय प्रकाश बानियाँले भने, “अहिले संरक्षणपछि खानेपानी सहज भएको छ। रिचार्ज पोखरी निर्माणले पानीको मात्रा स्थिर राख्न सहयोग गरेको छ।”

गाउँपालिका अध्यक्ष थामबहादुर राईले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा जलस्रोतमा नकारात्मक असर देखिएको उल्लेख गर्दै जलाधार संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले भने, “सडक विस्तार र अन्य मानवीय गतिविधिका कारण मुहान सुक्ने जोखिम बढेकाले गाउँपालिका सचेत छ। नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेट वातावरण संरक्षण र दिगो विकासमा खर्च गरिएको छ।”

भुल्के क्षेत्रमा गरिएको संरक्षण कार्यले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु-याउने गाउँपालिकाले जनाएको छ।

Skip This
Skip This
Logo