काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन अपिल गरेकी छन्। फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण क्षणका रूपमा उल्लेख गर्दै उनले सबै मतदातालाई मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन्।
प्रधानमन्त्रीले जेन–जी आन्दोलनपछिको जटिल अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ ल्याउन सफल भएको दाबी गर्दै संविधान र विधिको शासनको मार्गमा मुलुक अघि बढिरहेको बताइन्। राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताको विवेकपूर्ण निर्णय आवश्यक रहेको उनले उल्लेख गरिन्।
निर्वाचनको मौन अवधि सुरु हुन लागेकाले शान्ति, संयमता र अनुशासन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई आग्रह गरिएको छ। निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको भूमिकाप्रति आभार व्यक्त गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सामग्रीप्रति सचेत रहन आग्रह गर्दै प्रधानमन्त्रीले तथ्यहीन प्रचारमा संलग्न तत्वलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइन्। दण्डहीनतालाई प्रश्रय नदिने र कानुनअनुसार कारबाही गर्न सरकार पछि नहट्ने स्पष्ट पारिएको छ।
होली (फागु पूर्णिमा)को अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले पर्व संयमित रूपमा मनाउन र कसैको इच्छाविपरीत रङ नलगाउन आग्रह गरिन्।
सम्बोधनमा मध्यपूर्व क्षेत्रमा विकसित युद्धजन्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा सरकार सतर्क रहेको जानकारी दिइयो। परराष्ट्र मन्त्रालय र सम्बन्धित नियोगहरूलाई सक्रिय बनाइएको र आवश्यक सुरक्षा सहजीकरण भइरहेको प्रधानमन्त्रीले बताइन्।
अन्त्यमा उनले निर्वाचनलाई शान्तिपूर्ण र ऐतिहासिक बनाउने जिम्मेवारी सबैको रहेको उल्लेख गर्दै लोकतन्त्र सुदृढ बनाउन मतदाताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।





























प्रतिक्रिया