काठमाडौं ६ः शिशिर खनालले जोगाउलान् बिरासत ?

काठमाडौं ६ः शिशिर खनालले जोगाउलान् बिरासत ?

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । काठमाडाैं निर्वाचन क्षेत्र -६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि आगामी निर्वाचन आफ्नो विरासत जोगाउने चुनौती देखिएको छ। अघिल्लो निर्वाचनमा शिशिर खनालको जितसँगै यो क्षेत्र रास्वपाको बलियो आधार इलाका मानिए पनि फेरिएको राजनीतिक समीकरण र जनताका बढ्दो अपेक्षाहरूले दललाई थप दबाबमा पारेको हाे ।

पुराना शक्तिहरू कांग्रेस र एमाले आफ्नो गुमेको साख फर्काउन रणनीति बुन्दै गर्दा, रास्वपा भने डेलिभरी र सुशासनको एजेन्डामा अडिग रहेर मतदाताको विश्वास कायम राख्ने दाउमा छ । यो क्षेत्रमा हुने आगामी प्रतिस्पर्धाले ‘नयाँ लहर’ को निरन्तरता वा परम्परागत राजनीतिको पुनरागमनमध्ये के हुने भन्ने कुराको छिनोफानो गर्नेछ। मुख्य दलका प्रभावशाली र जनस्तरमा पकड भएका नेताहरु एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रँदा दल र उम्मेदवारका निम्ति काठमाडौं ६ को चुनाव यसपटक सामान्य हार/जितमा मात्रै सीमित नहुने देखिएको छ।

यो क्षेत्रमा १५ दल र पाँच स्वतन्त्र उम्मेदवार छन्, जसमध्ये पाँच महिला छन् । रास्वपाबाट शिशिर खनाल, कांग्रेसबाट कृष्‍ण बानियाँ क्षेत्री, एमालेबाट अमन कुमार मास्के, नेकपाबाट हेम लाल शर्मा, राप्रपाबाट उद्व राज भेटुवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, श्रम संस्कृति पार्टीबाट लवली थापा, राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मी, नेमकिपाबाट इन्द्रकुमारी बज्राचार्य, आजपाबाट सफलता बोगटी, प्रलोपाबाट गिरीराज अर्याल, जय मातृभूमि पार्टीबाट रोमलाल गिरी, माओवादीबाट शुक्रबहादुर लामा र राष्ट्रिय मुक्ति पार्टीबाट इन्दिरा थापा उम्मेदवार छन् ।

अघिल्लो निर्वाचनमा काठमाडौं -६ मा विजयी रास्वपालाई यसपटक साख जोगाउने चुनौती छ । कांग्रेस पृष्ठभूमि रहेका खनाल २०७९ सालको चुनावमा रास्वपाबाट निर्वाचित भएका थिए। गत निर्वाचनमा १४ हजार २२१ मत पाएर चुनिएका खनाल रास्वपाको बढ्दो प्रभावका बीच आफू पछि परिएला कि भन्ने तनावमा छन्। सांसद निर्वाचित भइसकेपछि उनले केही समय शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । उनले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेका छन् । नीति निर्माणमा भूमिका खेलिरहेका खनाल पार्टीमा पनि सचिवालय तहकै जिम्मेवारीमा छन् ।

यता कांग्रेस काठमाडौं सभापतिसमेत रहेका कृष्‍ण बानियाँ पहिलोपटक प्रतिनिधि सभाका उम्मेदवार बनेका हुन् । एमालेले प्रदेश सभाका निवर्तमान सांसद अमन मास्केलाई उम्मेदवार बनाएको छ । उनी ०७९ को निर्वाचनमा काठमाडौं ६ (२) बाट निर्वाचित भएका थिए । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत भएका थिए । नेकपाका केन्द्रीय सदस्य शर्मा दोस्रोपटक सांसदका लागि चुनावी मैदानमा छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं ६ बाटै उम्मेदवार थिए ।

काठमाडौं ६ मा गत ०७९ को निर्वाचनमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो भएको थियो । रास्वपाले ११,९९६ मत ल्याएको थियो । समानुपातिकमा दोस्रो भएको एमालेले ८ ,०१९ मत ल्याएको थियो । तेस्रो स्थानमा आएको कांग्रेसले ७,५७७ मत ल्याएको थियो । चौथोमा राप्रपाले ४, ६१० र पाँचौँमा नेकपा (तत्कालीन माओवादी) ले १, ८०२ मत ल्याएको थियो । यो क्षेत्रमा ६७ हजार ७५९ जना मतदाता रहेका छन् भने ३२ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएको छ ।

Logo