धनगढी । धनगढी–१३ कैलाली गाउँमा होलीका क्रममा भएको झडपपछि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मंगलबार साँझ दुई समूहबीच विवाद चर्किँदा स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएको थियो । घटनामा प्रहरी सहायक निरीक्षक (असई) डबल साउद गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनास्थलबाटै १२ जनालाई पक्राउ गरिएको हो । उनीहरूमाथि सोधपुछ र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार विवाद बालबालिकाबीचको झगडाबाट सुरु भएको थियो । पछि ठूलो समूह मिसिँदा अवस्था नियन्त्रणबाहिर गएको बताइएको छ ।
झडपका क्रममा इन्स्पेक्टर बलराम पाण्डेसहित अन्य दुई जना पनि घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
भीड आक्रामक बनेपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको थियो । घटनामा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।
घटनापछि थप तनाव हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले घटनाको वास्तविक कारण र संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।































प्रतिक्रिया