के हो ‘स्ट्रेट अफ होर्मुज’ ? [भिडियो]

के हो ‘स्ट्रेट अफ होर्मुज’ ? [भिडियो]

केन्द्रबिन्दु
72
Shares

विश्व मानचित्रमा एउटा यस्तो साँघुरो समुद्री मार्ग छ, जसको सामान्य हलचलले पनि विश्वको अर्थतन्त्रलाई नै ‘कोमा’ मा पुर्याउन सक्छ । स्ट्रेट अफ होर्मुज त्यहि मार्ग हो । पछिल्लो समय मध्यपूर्वमा इजरायल र इरानबीचको बढ्दो सैन्य मुठभेड र अमेरिकाको बढ्दो संलग्नतापछि इरानले यस जलमार्गमाथि आफ्नो पकड कडा बनाउँदै लगेको छ ।

ओमान र इरानको बीचमा अवस्थित यो जलमार्गले फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यसको उत्तरी किनारमा इरान छ भने दक्षिणमा ओमान र संयुक्त अरब इमिरेट्स (युएई)को मुसन्दम प्रायद्वीप रहेका छन् । यो जलमार्ग करिब १६७ किलोमिटर लामो रहेता पनि यसको सबैभन्दा साँघुरो भाग भने ३९ किलोमिटर चौडा मात्र रहेको छ ।

पानीजहाजहरूका लागि दुवै दिशामा निर्धारित लेनहरू ३ किलोमिटर चौडा मात्र छन्, जसले यस जल मार्गलाई आक्रमणको उच्च जोखिममा राख्ने गरेको छ । यो जलमार्गको गहिराइ ६० देखि १०० मिटरसम्म छ, जस कारण ठूला सुपरट्याङ्करहरू पनि यस मार्गको प्रयोग गर्न सक्छन् ।

हालै अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त आक्रमण गर्दा यो जलमार्ग युद्धको चपेटामा परेको छ, जस कारण १५० भन्दा बढी तेलका ट्याङ्करहरू बिचमै अलपत्र परेपछि विश्वबजारमा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । त्यस्तै युद्धमा दुई जना नाविक मारिनुका साथै कम्तीमा चार ट्याङ्करमा क्षति पुगेको छ । तेलको मूल्य पनि ७३ डलरबाट ७९.४० डलर नाघिसकेको छ ।

स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा व्यापारको मुटु हो । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२४ मा मात्र यस मार्गबाट दैनिक करिब २ करोड ब्यारेल कच्चा तेल र कन्डेन्सेट गुज्रेको थियो, जुन विश्वव्यापी तेल खपतको २० प्रतिशतभन्दा बढी हो । यसबाहेक, विश्वव्यापी लिक्विफाइड नेचुरल ग्यासको २० प्रतिशत पनि यसै मार्गबाट गुज्रन्छ, जसमा कतारको हिस्सा सबैभन्दा ठूलो छ । यो ऊर्जा मुख्य रूपमा एसियाका चीन, भारत, जापान र दक्षिण कोरिया तर्फ लगिन्छ । सन् २०२४ मा मात्रै यस जल मार्ग हुँदै पार गर्ने ऊर्जाको मूल्य ५०० अर्ब डलरभन्दा बढीको थियो ।

इरानले यस मार्गलाई आफ्नो क्षेत्रीय पानी दाबी गरेता पनि अमेरिका र अन्य राष्ट्रहरूले यसलाई अन्तर्राष्ट्रिय जलमार्ग ठान्छन् । इतिहासमा यो मार्ग ‘ओर्मुजको राज्य’ को भागमा आउथ्यो, जसले १०औँ देखि १७औँ शताब्दीसम्म मध्य एसियाबाट आउने विलासी वस्तुहरूको व्यापार नियन्त्रण गथ्र्यो । त्यति मात्र होइन स्ट्रेट अफ होर्मुजको इतिहास सधैं युद्ध र तनावले भरिएको छ ।

सन् १९८० को दशकमा इरान–इराक युद्धको समयमा ‘ट्याङ्कर वार’ मा इराकले इरानी जहाजहरूमा आक्रमण गरेको थियो, तर इरानले यसलाई पूर्ण बन्द गरेन । त्यस्तै अमेरिकाले सन् १९८८ मा ‘अपरेशन प्रेइङ म्यान्टिस’ मा इरानी लक्ष्यहरूमा आक्रमण गरेको थियो, जसमा इरानी जहाजहरू डुबेका थिए । त्यसै वर्ष अमेरिकी नौसेनाले गल्तीले इरान एयरको उडान ६५५ लाई गोली हानेर २९० यात्रुहरूको ज्यान लिएको थियो । पछिल्ला वर्षहरूमा इरान स्वयंमले जहाजहरू कब्जा गरिरहेको छ ।

अझ अहिलेको परिदृश्य अझ खतरनाक छ । अमेरिका र इजरायलको इरानमाथि संयुक्त आक्रमणपछि इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा गरेको छ, यस मार्गबाट हिँड्ने जहाजहरूमा आक्रमणहरू भएका छन् । पानीजहाज आवतजावत ८० प्रतिशतले घटेको छ, हाल इरानी र चिनियाँ जहाजहरू मात्र आवतजावत गरिरहेका छन् ।

केप्लरको डाटा अनुसार यदि ‘स्ट्रेट अफ होर्मुज’ पूर्ण रूपमा बन्द भयो भने, विश्व तेल आपूर्तिको पाँचौँ हिस्सा अवरुद्ध हुनेछ । जसले गर्दा एसियाली देशहरू चीन, भारत, जापान र दक्षिण कोरियाले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।

संयुक्त राज्य अमेरिकाको ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार २०२४ मा होर्मुज हुँदै गएको कच्चा तेल र कन्डेन्सेटमध्ये ८४ प्रतिशत एशियाली बजारतर्फ गएको थियो। चीन, भारत, जापान र दक्षिण कोरियाले मात्र कुल आपूर्तिको ६९ प्रतिशत खपत गरेका थिए । त्यस्तै, युरोपमा जेट इन्धनको मूल्य बढेर सप्लाई चेन नै प्रभावित हुनेछ । वैकल्पिक मार्गहरू सीमित भएकाले केप अफ गुड होप हुँदै ढुवानी गर्दा लागत बढ्नुका साथै मूल्य पनि थप वृद्धि हुने विश्लेषकहरु बताउँछन् ।

मध्यपूर्वमा तनाव बढेसँगै धेरै ट्यांकर कम्पनीहरूले तेल र ग्यास ढुवानी अस्थायी रूपमा रोकेका छन्। जहाज ट्र्याकिङ डाटाअनुसार कम्तीमा १५० वटा तेल तथा एलएनजी ट्यांकरहरू जलडमरूमध्य बाहिर खुला समुद्रमा एंकर हालेर रोकिएका छन्।

समग्रमा स्ट्रेट अफ होर्मुज जलमार्ग मात्र होइन, यो विश्व अर्थतन्त्रको सन्तुलन पनि हो । यस मार्गको बन्दले तेलको मूल्य बढ्नुका साथै मुद्रास्फीति, मन्दी र राजनीतिक अस्थिरता पनि निम्त्याउने छ । वर्तमान अमेरिका, इजरायल र इरानबिचको युद्धले यस मार्गलाई थप जोखिमपूर्ण बनाएको छ । विश्व समुदायले यस मार्गलाई निर्बाध राख्न कूटनीतिक प्रयास गर्नुपर्ने देखिन्छ, किनकि यस जल मार्गको सुरक्षा विश्व ऊर्जा सुरक्षाको आधार हो ।

Skip This
Skip This
Logo