गलकोट। स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउने उद्देश्यले जैमिनी नगरपालिका–३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ। वडा कार्यालयको ३ लाख १२ हजार रुपैयाँ लागतमा भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
वडाध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत कृषि सामग्री सङ्कलन र बजारीकरणका लागि केन्द्र स्थापना गरिएको हो। वडा नं. ३ भित्र उत्पादन भएका सामग्री यहीँ सङ्कलन गरिने र त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समार्फत बजार पठाइने व्यवस्था मिलाइएको छ।
यसअघि सङ्कलन केन्द्र नहुँदा किसानले उत्पादन बिक्री गर्न समस्या भोग्दै आएका थिए। अब एउटै स्थानमा सामग्री जम्मा गर्न सकिने भएपछि बजारसम्म पहुँच सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय किसान भैरवप्रसाद सापकोटाले केन्द्र निर्माणलाई समयानुकूल कदम भन्दै यसले किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनका अनुसार सडक र यातायात सुविधा विस्तारसँगै उत्पादन बढेको छ, तर बजारीकरण चुनौती थियो। अब सङ्कलन केन्द्रले उत्पादनलाई बजारसँग जोड्ने काम गर्ने विश्वास गरिएको छ।
दमेक क्षेत्रमा विशेषगरी आलु र भाँगोको उत्पादन बढी हुने गरेको छ। केन्द्र सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवद्र्धन र किसानको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया