काठमाडौं । महानायक राजेश हमालले वर्तमान विश्व राजनीति र नेपालको आन्तरिक परिस्थितिलाई दृष्टिगत गर्दै भाेलि हुने निर्वाचनमा अत्यन्तै सोच-विचार गरेर मात्र मतदान गर्न आम नागरिकलाई अपिल गरेका छन् ।
चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले नेपालको अहिलेको अवस्थालाई अस्तित्व रक्षाको चुनौतीसँग तुलना गरेका छन् । उनले मध्यपूर्वमा भइरहेको द्वन्द्व, इरानमाथि भएका आक्रमण र पूर्वी युरोपको युद्धले विश्व व्यवस्थालाई नै डगमगाएको चर्चा गरे । उनका अनुसार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर बन्दै गएको र ‘शक्तिको खेल’ हावी भएको वर्तमान परिवेशमा नेपालजस्तो सानो राष्ट्र थप जोखिममा परेको छ।
“विश्व अनिश्चितता र अस्थिरताको भूमरीबाट गुज्रिरहेको छ,” हमालले भनेका छन्, “यस्तो अवस्थामा नेपालमा राजनीतिक स्थिरता र एकबद्धता हाम्रो स्वतन्त्रता र सार्वभौमता बचाउनका लागि अनिवार्य सर्त बनेको छ।”
आफ्नो सन्देशमा हमालले भदौ २३ र २४ गते भएका दुःखद घटनाहरू र राष्ट्रिय सम्पदाको विनाशको प्रसङ्गलाई गम्भीरताका साथ उठाएका छन् । ती घटनाहरूको जवाफदेहिता अझै प्रस्ट नभएको र ती घटनाहरू बीचको सम्बन्धबारे जनतालाई स्पष्टीकरण नदिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, “हामीले आज आफ्नो शक्ति कसलाई हस्तान्तरण गर्दैछौँ र ती व्यक्तिले डगमगाएको विश्व राजनीतिमा नेपालको स्थान कसरी सुरक्षित राख्छन् भन्ने कुरा गहिराइमा पुगेर सोच्न आवश्यक छ।”





























प्रतिक्रिया