काठमाडौँ । रौतहट-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेका छन्।
राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका ८ वटा वडामा पुनः मतदान गर्नुपर्ने माग गर्दै उनले आफ्ना पोल एजेन्टलाई मतदान स्थलबाट बाहिर निस्कन निर्देशन दिएका हुन् ।
उम्मेदवार साहले केही मतदान केन्द्रमा अर्काको नाममा मत खसालिएको दाबी गर्दै ती केन्द्रमा खटिएका आफ्ना पार्टी प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको प्रतिक्रिया दिए। ‘अर्काको नाममा मत खसाउने काम भएको छ, प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको छ’, उनले भने, ‘अब म निर्वाचन कार्यालयमा धर्ना दिन्छु।’
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने धाँधलीको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार केही स्थानमा सामान्य विवाद बाहेक कतै पनि गम्भीर अनियमितता भएको देखिएको छैन।





























प्रतिक्रिया