कपिलवस्तु
जिल्लामा ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । सन् ०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशत भन्दा कममा झार्ने सरकारी योजना अनुसार यस जिल्लामा वि.सं. ०६४ देखि ०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो ।
त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान ०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् ०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशत भन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् ।
जिल्लामा यस वर्ष पुनः हात्तीपाइले विरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । आगामी फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । “नौ वर्षे अभियान उपलब्धिमूलक देखिएन, त्यसैले फेरि यो अभियान सञ्चालन गर्न लागेका छौँ, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भने,– “अभियानमा पोका पारेर औषधि बाँडियो, तर धेरैले खाएनन्, त्यसैले रोगको निवारण भएन ।” उनका अनुसार नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् ।
रासस































प्रतिक्रिया