काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन् ।
केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो सर्वोच्च अदालत पुगेका थिए । केसीले सर्वोच्चको १५ नम्बर मुद्दा फाँटबाट प्रधानन्यायाधीश पराजुलीको एसएलसीको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय र न्यायपरिषद्ले पठाएका पत्र लगायत सक्कल बमोजिम नक्कल प्राप्त गरेका हुन् । ‘सबै कागजातको नक्कल सर्वोच्च अदालतबाट प्राप्त गरेका छौं । अध्ययन हुन बाँकी छ’, डा. केसीका कानुन व्यवसायी रहेका अधिवक्ता अर्यालले भने।
न्यायालयको जनआस्था माथि गम्भीर खलल पु¥याएको अभियोगमा सर्वोच्च अदालतले गत पुस २४ गते केसीलाई पक्राउ आदेश जारी गर्दै बयान समेत लिएको थियो । स्रोतका अनुसार प्रधानन्यायाधीश पराजुलीले वीरगन्ज स्थित नेपाल राष्ट्रिय विद्यापीठबाट २०२९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको छाप सहितको प्रमाणपत्र छ ।
उक्त विद्यापीठलाई तत्कालीन श्री ५ को सरकार र त्रिभुवन विश्वविद्यालयबाट एसएलसीसरह मान्यता प्राप्त छ । पराजुलीले तृतीय श्रेणीमा ३ सय ५४ नम्बर ल्याएर एसएलसी उत्तीर्ण गरेका छन् । अवहेलना मुद्दामा केसीकै माग अनुरूप सर्वोच्चले न्यायपरिषद सचिवालय र काठमाडौं जिल्ला प्रशासन कार्यालय (सीडीओ) मार्फत पराजुलीको प्रमाणपत्र झिकाएको हो । सीडीओ कार्यालयले पराजुलीले २०१० साल वैशाख १६ गते नागरिकताको प्रमाणपत्र लिएको प्रमाण सर्वोच्चमा पेस गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया