धनकुटा । धनकुटा क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई ३ हजार ८७५ मतान्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राईले १८ हजार १३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन्।
यसैगरी श्रम संस्कृति पार्टीका सानबहादुर राई ११ हजार ९३२ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ९ हजार ९४४ मत ल्याउँदै चौथो स्थानमा सीमित भए। देशका धेरै क्षेत्रमा राम्रो परिणाम निकालिरहेको रास्वपा धनकुटामा भने उल्लेख्य सफलता हासिल गर्न सकेन।
यो जितसँगै राईले धनकुटाबाट प्रतिनिधिसभामा ह्याट्रिक गरेका छन्। २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी यसपटक पनि मतदाताबाट पुनः निर्वाचित भएका हुन्।
राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका नेता हुन्। लगातार तीन पटक संसद् पुग्न सफल भएपछि धनकुटामा एमालेको प्रभाव अझै कायम रहेको संकेत देखिएको छ।





























प्रतिक्रिया