सामाजिक अभियानबाट संसद्सम्मः बागलुङ–२ मा सोम शर्माको उदय

सामाजिक अभियानबाट संसद्सम्मः बागलुङ–२ मा सोम शर्माको उदय

केन्द्रबिन्दु
15
Shares

गलकोट (बागलुङ) । सामाजिक अभियान र युवा आन्दोलनबाट चिनिएका सोम शर्मा प्रतिनिधिसभा सदस्यका रूपमा संसद् पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका उनले बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट जित निकाल्दै राजनीतिक यात्रा औपचारिक रूपमा संसद्सम्म पु¥याएका हुन्।

३४ वर्षीय शर्माले १२ हजार ६४७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका टेकराज पौडेललाई ७७९ मतान्तरले पराजित गरे। पौडेलले ११ हजार ८६८ मत पाए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत ल्याए भने नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ७ हजार ८६४ मत प्राप्त गरिन्। यस क्षेत्रमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

बागलुङ बजारमा इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गर्दै आएका शर्मा पछिल्लो समय सामाजिक अभियानमार्फत चर्चामा आएका थिए। ‘आम युवा’ र ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ जस्ता अभियानसँग जोडिँदै उनले युवा सहभागिता, सुशासन र नागरिक खबरदारीका मुद्दा उठाउँदै आएका थिए।

कोरोना महामारीको समयमा काठमाडौंमा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने अभियानमा सक्रिय रहँदा उनी थप चिनिएका थिए। त्यसपछि विभिन्न सामाजिक र नागरिक अभियानमार्फत उनले युवामाझ अलग पहिचान बनाएका थिए।

२०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आमसञ्चार विषयमा स्नातक अध्ययन गरेका छन्। कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी तालिमसमेत लिएका उनी कम्प्युटर शिक्षक, प्राविधिक र व्यवस्थापन क्षेत्रमा समेत काम गरेको अनुभव राख्छन्।

शर्माले बागलुङको पश्चिम क्षेत्रलाई पर्यटनमार्फत विकास गर्ने आफ्नो प्राथमिकता रहने बताएका छन्। उनका अनुसार लामो समयदेखि विकट भनेर चिनिएको क्षेत्रलाई अब विकास र सम्भावनासँग जोड्ने प्रयास गरिनेछ।

Logo