जित केवल जित्नका लागि होईन परिवर्तनका लागि हो : बोहोरा

जित केवल जित्नका लागि होईन परिवर्तनका लागि हो : बोहोरा

केन्द्रबिन्दु
6
Shares

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा उठाउने बताएका छन्।

शनिबार विजयी घोषणा भएपछि उनले मतदाताले दिएको मत केवल जितका लागि नभई परिवर्तनका लागि भएको बताए। कञ्चनपुर–२ का नागरिकका समस्या र सरोकारका विषयलाई संसद्मा उठाउने र समाधानका लागि पहल गर्ने उनले उल्लेख गरे।

अन्तिम मतपरिणाम अनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरे।

करिब १८ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय बोहरा नेपाल टेलिभिजन, नेपाल वान, न्यूज–२४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरिसकेका छन्। सञ्चार क्षेत्रमा रहँदा उनले विभिन्न राष्ट्रिय तथा जनचासोका विषय उठाउँदै आएका थिए। पछिल्लो समय सक्रिय राजनीतिमा लागेर उनी निर्वाचनमा होमिएका थिए।

चुनावी अभियानमा साथ दिने मतदाता, समर्थक र स्वयंसेवकप्रति धन्यवाद दिँदै उनले अबको प्राथमिकता जनताको विश्वास अनुसार काम गर्नु रहेको बताएका छन्। उनका अनुसार कञ्चनपुर–२ मा देखिएका समस्या समाधान, सुशासन सुदृढीकरण र विकासका काममा ध्यान केन्द्रित गरिनेछ।

यसैबीच निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिस्पर्धी उम्मेदवारहरूले पनि विजयी बोहरालाई बधाई दिएका छन्।

Logo