खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन्।
राई विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य तथा आर्थिक विभाग प्रमुख पद त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। उनी पहिचानवादी नेताका रूपमा पनि परिचित छन्। सानै उमेरदेखि विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले प्रतिनिधिसभामा पुगेर भूइँमान्छेको हित हुने नीति निर्माण र उनीहरूको आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा सक्रिय रहेका राई हाल स्नातक तहमा अध्ययनरत छन्।
जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो।
पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनका कारण जिल्लामा जित हासिल भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताएका छन्।
दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुराना राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको थियो। श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको नाम समावेश छ। आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे रहेका छन्।





























प्रतिक्रिया