मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल निर्वाचित भएका छन्।
२६ वर्षको उमेरमा सङ्घीय संसद्मा पुग्न सफल खनाललाई युवा पुस्ताको प्रतिनिधि र वैकल्पिक राजनीतिक सोच बोकेको नेता भनेर हेरिन्छ। मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनाल २०५६ असार ११ गते जन्मिएका हुन्। विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौँ पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका हुन्।
उनले विवेकशील साझा पार्टीमा आबद्ध भई २० वर्षमै केन्द्रीय सदस्य बनेका थिए। काठमाडौँ बसाइँमा विभिन्न आन्दोलन, नागरिक अभियान र सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका खनाल ‘जेनजी’ आन्दोलनमा पनि संलग्न थिए।
राजनीतिक सक्रियतासँगै उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिव भएर संसदीय अभ्यासको अनुभव पनि प्राप्त गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा बढेको छ।
खनालले युवा पुस्ताको आवाज, पारदर्शिता, जवाफदेहिता र सुशासनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत विषयमा अध्ययन र अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताएका छन्।
निर्वाचन परिणामअनुसार खनालले नेकपा एमालेका तिलबहादुर महतलाई २५,५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसका ओमबहादुर घर्तीले १४,७१३ र नेकपा एमालेका गणेशमान महतोले १,५३८ मत पाएका थिए।





























प्रतिक्रिया