निर्वाचनपछि संसद्मा युवाको बलियो प्रवेश, ३५ बर्षमुनिका को-को बने सांसद ?

निर्वाचनपछि संसद्मा युवाको बलियो प्रवेश, ३५ बर्षमुनिका को-को बने सांसद ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। अधिकांश क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फ मतगणना जारी छ। यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेख्य प्रवेश गराएको छ।

प्रत्यक्षतर्फ ३५ वर्षमुनिका २३ जना उम्मेदवार निर्वाचित भएका छन्। तीमध्ये २० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, एक जना नेपाली कांग्रेस, एक जना राष्ट्रिय प्रजातन्त्र पार्टी र एक जना श्रम संस्कृति पार्टीबाट विजयी भएका छन्।

३५ वर्षमुनिका निर्वाचित सांसदमध्ये ३० वर्षीया सोविता गौतम चितवन–३ बाट ५९ हजार २७७ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत पाए।

रूपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत पाए।

मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत पाए।

काभ्रे–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भए। कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाए।

झापा–१ बाट २९ वर्षीया निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाए।

नवलपुर–२ बाट २६ वर्षीय मनीष खनाल ४१ हजार ३४७ मतसहित विजयी भए। एमालेका तिलबहादुर महतले १५ हजार ७५५ मत पाए।

सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भए। कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत पाए।

यसैगरी मोरङ–४ बाट सन्तोष राजवंशी, सिरहा–२ बाट शिवशंकर यादव, सिरहा–४ बाट तपेश्वर यादव, महोत्तरी–२ बाट दीपक साह, महोत्तरी–३ बाट उज्ज्वल झा, काठमाडौँ–५ बाट सस्मित पोखरेल, मकवानपुर–२ बाट प्रशान्त उप्रेती, गुल्मी–१ बाट सागर ढकाल, प्यूठान–१ बाट सुशान्त वैदिक, काठमाडौँ–१ बाट रञ्जु न्यौपाने, बाग्लुङ–२ बाट सोम शर्मा, स्याङ्जा–२ बाट झविलाल डुम्रे, सप्तरी–२ बाट रामजी यादव र कैलाली–२ बाट केपी खनाल पनि निर्वाचित भएका छन्।

अन्य दलबाट पनि केही युवा सांसद निर्वाचित भएका छन्। मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली, जुम्ला–१ बाट राप्रपाका ज्ञानबहादुर शाही र खोटाङ–१ बाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन्।

यसपटकको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई थप बल दिएको देखिन्छ।

Logo