काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।
दुई तिहाइ जितको नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३० वर्ष मुनिका १ दर्जनभन्दा बढी युवाहरु सदनको यात्रा तय गर्दै छन्। युवा विद्रोह र राजनीतिक परिवर्तनपछिको पहिलो मतदान भएकाले १८ देखि ३० वर्ष उमेर समूहका मतदाता र उम्मेदवारहरूको निर्णायक भूमिका रह्यो । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, प्रविधिमा आधारित एजेन्डा र परम्परागत राजनीतिक दलप्रतिको वितृष्णाका कारण स्वतन्त्र र नयाँ दलहरूबाट थुप्रै जेन्जी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । अबको संसदमा जनताबाट चुनिएका ३० वर्ष मुनिका सांसदहरूले पुरानो पुस्ताको राजनीतिलाई विस्थापन गर्दै प्रविधिमैत्री नीति निर्माणमा जोड दिने देखिन्छ ।
अब बन्ने संसदमा सबैभन्दा कम उमेरका सांसद बन्ने छन् २५ वर्षीय प्रशान्त उप्रेती । उनी मकवनापुर -२ बाट नेकपा एमालेका नेता महेशकुमार बर्तौलालाई लगभग दोब्बर मतले हराएर सांसद चुनिएका हुन् । उप्रेतीले ३०,०५० मत ल्याउँदा बर्तौला १८,८४६ मतमा खुम्चिएका थिए । युवा उमेरमै होटल र पर्यटन क्षेत्रमा गरेको कार्यले उप्रेतीलाई स्थानीयस्तरमा परिचित गराएको छ । उनी संविधानलाई संघर्षको प्रतिफल मान्छन् र संविधानको भावनाको रक्षाका लागि अडिग छन् ।
यता नवलपुर -२ बाट रास्वपाका २६ वर्षीय मनीष खनाल पनि निर्वाचित भएका छन्। उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली कांग्रेसका ओम घर्तीमगरलाई दोब्बर मतभन्दा बढी मतले पछाडि पार्दै विजयी भएका हुन्। खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ पाए । नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका खनाल जेनजीको भावना, जवाफदेही, पारदर्शीता र आफूले उठाएको मुद्दा सम्बोधन गर्न दृढ देखिन्छन् । सामाजिक र राजनीतिक न्यायका लागि काठमाडौं केन्द्रित आन्दोलनहरूमा उनी निरन्तर सहभागी भएर सडकबाट आवाज उठाउँदै आइरहेका थिए ।
झापा -१ मा रास्वपाकी २९ बर्षिय निशा डाँगी निर्वाचित भएकी छन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी छन् । उनले ४५,६८० मत ल्याइन् प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १०,५५० जम्मा मत प्राप्त गरे ।
त्यसैगरी मोरङ -६ बाट निर्वाचित रास्वपाकी ३० वर्षीय रुबिना आचार्यले ५५ हजार ५१३ भारी मतका साथ विजयी हुदाँ उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका दिग्गज नेता डा. शेखर कोइरालाले मात्र १२ हजार ८५० मत मात्र प्राप्त गरे । उनीहरुबीच ४२ हजार बढीको मतान्तर रहेको थियो ।
त्यस्तै, सप्तरी -२ मा पनि रास्वपाका ३० बर्षीय रामजी यादव निर्वाचित भएका छन् । यादवले २८ ,४०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका थिए ।
सिराहा -१ मा रास्वपाबाट उम्मेदवारी दिएका २८ बर्षिय बब्लु गुप्ता निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१,५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१,३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९,७८४ मत पाए । अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर चुनाव उठेका उनी नेपालको इतिहासमा सबैभन्दा कान्छा उमेरको मन्त्री बनेका व्यक्ति हुन् । अब फेरि उनी जनताबाट चुनिएर संसद छिरेका छन् ।
त्यस्तै सिराहा -२ मा रास्वपाकै उम्मेदवार ३० वर्षिय शिवशंकर यादव विजयी भएका छन् । अन्तिम मतगणना अनुसार यादवले ३९,५६१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२,८१४ मत ल्याए । यादव २६,७४७ फराकिलो मतान्तरले विजयी भएका हुन् ।
काठमाडौं -१ बाट निर्वाचित भएकी रन्जु न्यौपानेको । उनी ३० वर्षीया नवनिर्वाचित सांसद हुन् । १५,४५५ मत ल्याएर विजयी भएकी उनी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई दोब्बरभन्दा बढी मतले पराजित गरिन् । थापाले ६,३६४ मत मात्रै ल्याएका थिए भने तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याए । मिश्रको यो लगातार तेस्रो हार थियो । सो क्षेत्रबाट काग्रेस र राप्रमा बाहेक ३० उम्मेदवारको जमानत जफत भएको छ ।
रास्वपाका २९ वर्षीय सस्मित पोखरेल पनि संसद छिर्ने पक्का भएको छ । नेपाली राजनीतिका हेभिवेट नेतालाई पाखा लगाएर उनी काठमाडौं -५ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका निवर्तमान बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राप्रपाका नेता कमल थापालाई हराएका हुन् । पोखरेल ३० हजार सात सय ३७ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार एक सय ५९ मत प्राप्त गरेका थिए ।
यस्तै, चितवन –३ की रास्वपा उम्मेदवार ३० वर्षीय सोविता गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा नेकपा उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भएकी हुन् । दाहाल भरतपुर महानगरपालिकाको मेयर पदबाट राजिनामा दिएर संसद पद लड्की थिइन् । तर २०७९ मा काठमाडौं–२ बाट जितेकी गौतम यसपटक चितवन –३ बाट पनि अनुमोदन भएकी हुन् ।
यसैगरी २८ वर्षीय सुलभ खरेल रास्वपाबाट रुपन्देही निर्वाचन -२ मा लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान मन्त्री विष्णु पौडेललाई भारी मतान्तरसहित पराजित गर्दै उनले संसद यात्रा तय गरेका हुन् । उनले ५६ हजार ५ सय ५० मत ल्याउँदा उपाध्यक्ष पौडेलले जम्मा १२ हजार ८ सय ३१ मतमै समेटिए ।
कैलाली -२ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेका २६ बर्षीय केपी खनाल पनि संसद छिरेका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले ११ हजार ९ सय ४९ मतमा सीमित भए । समाजिक अभियन्ता खनाल काठमाडौंका पूर्वमेयर बालेन शाह र रास्वपा एकता हुँदा बालेनको टिमबाट रास्वपामा प्रवेश गरेका हुन् ।
खोटाङमा -१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका २९ बर्षिय उम्मेदवार आरेन राई १६,६१२ मत ल्याएर निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्दी एमालेका देव विक्रम राईलाई हराउँदै सांसद बनेका हुन् । ४ महिना अघि मात्रै उदाएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा खोटाङसहित भोजपुर र सुनसरीमा पनि जित हासिल गरेको छ ।
अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ ।





























प्रतिक्रिया