काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार डाकेको अनौपचारिक सचिवालय बैठक सकिएको छ । मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डसहित सचिवालयका पाँच सदस्य उपस्थित अनौपचारिक बैठक सकिएको हो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।
अनौपचारिक बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने–‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ । पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ ।’ आजको बैठक अनौपचारिक रूपमा बसेको प्रवक्ता श्रेष्ठको भनाइ छ । सहमतिमै सचिवालय बैठक बस्न आफूहरूले प्रयत्न गरिरहेको श्रेष्ठले बताए ।
धुम्बाराहीभन्दा पहिले बालुवाटारमा प्रचण्डको भेट
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले केन्द्रबिन्दुलाई जानकारी दियो । उक्त स्रोतको दाबी अनुसार प्रम ओलीसँग भेटवार्ता गरेपछि कार्यकारी अध्यक्ष दाहाल धुम्बाराहीमा बैठकका लागि गएका हुन् ।
कात्तिक २२ मा अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै प्रम ओलीलाई लिखित पत्र बुझाएका थिए । उक्त प्रकरणपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ । प्रम एवं अध्यक्ष ओलीले सचिवालय बैठक नडाकेपछि बिच्किएका सचिवालय सदस्यहरू मंगलबार एकलौटी बैठक सञ्चालन गर्ने मनस्थितिमा पुगेका हुन् । यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रम ओलीलाई भेटेर सचिवालय बैठकका लागि लिखित पत्र बुझाएका थिए । सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई सोमबार निवासमा भेटवार्ता गर्दै जानकारी गराएका थिए । सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रम ओलीले विधानअनुसार गर्नु भनेर तोक लगाएको बताइएको छ ।
एका बिहानै खुमलटारमा ओली दूतको प्रचण्डसँग भेट
नेकपाका दुई पाइलट बीच टकराब चुलिएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले दुई अध्यक्ष बीच सहमति गरेर जानुपर्ने सुझाव दिएको समाचार विवरण सार्वजनिक भएको छ । ओली निकट मानिने पोखरेलसँगको छलफलमा पनि ठोस निष्कर्ष ननिस्किएकोे बताइएको छ । यसअघि सोमबार महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेका थिए । तर उनीसँग पनि कार्यकारी अध्यक्ष दाहालले खुलेर कुराकानी नगरेको बुझिएको छ ।





























प्रतिक्रिया