काठमाडौं। लामो समयको बेयरिस चक्रपछि नेपाली शेयर बजार (नेप्से)ले अप्रत्याशित उछाल देखाएको छ । निर्वाचन परिणाम सार्वजनिक हुनासाथ नेप्से सूचकांकले एकै दिन करिब ६ प्रतिशतको वृद्धि गर्दै लगातार तीन पटक सर्किट ब्रेकर लाग्यो र बजार समयअघि नै बन्द हुन पुगेको छ । यसरी शेयर बजारमा आएको उछाल केवल अंकको वृद्धि मात्र होइन, जनताको राजनीतिक आशा र आर्थिक अपेक्षाको प्रत्यक्ष अभिव्यक्ति हो।
विश्लेषकहरूका अनुसार, यो घटना नेपाली पूँजी बजारको भावनात्मक पुनर्जागरण हो। लामो समयसम्मको बेयरिस चक्रपछि—जुन २०२१ पछि तीन वर्षसम्म नेपाली लगानीकर्ताका लागि डर, अनिश्चितता र आर्थिक सुस्तताको समय थियो—बजार पुनः सक्रिय हुँदैछ । २०२५ को अन्त्यतिर धेरै संस्थागत र अनुभवी लगानीकर्ताहरूले चुपचाप शेयर संकलन गर्न थालेका थिए। बजारको भाषामा यसलाई “एक्युमुलेसन फेज” भनिन्छ, जहाँ ठूलो पूँजीले भविष्यको बुल रनको तयारी गर्छ।
तर यो केवल आर्थिक संकेत मात्र होइन। सामाजिक र राजनीतिक ऊर्जा यस उछालको मुख्य चालक बनेको छ। युवा पुस्ताले नेतृत्व परिवर्तनको माग गर्दै गरेको आन्दोलन, नयाँ राजनीतिक शक्तिप्रति देखिएको जनसमर्थन र पुरानो प्रणालीप्रति बढ्दो असन्तुष्टि अल टुगेदर बजारमा नयाँ मनोवैज्ञानिक ऊर्जा थपेका छन्। यही कारण विश्लेषकहरूले अहिलेको सम्भावित बुल रनलाई ‘बालेन बुल’ को संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।
बालेन शाह स्वयं नीति निर्माता वा अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभए पनि उनी नयाँ पुस्ता, भ्रष्टाचारविरुद्धको जनआकांक्षा र प्रणाली परिवर्तनको प्रतीक बनेका छन्। बजारले प्रायः यस्तो प्रतीकात्मक नेतृत्वलाई भविष्यको आर्थिक सुधारको संकेतको रूपमा पढ्छ।
अन्तर्राष्ट्रिय उदाहरण हेर्दा पनि राजनीतिक परिवर्तनपछि शेयर बजारमा दीर्घकालीन बुल रन आएको देखिन्छ। १९८० मा अमेरिका, २०१४ मा भारत, र हालै इन्डोनेसियामा राजनीतिक परिवर्तनसँगै पूँजी बजारले विदेशी लगानी र आन्तरिक उत्साह दुवै अनुभव गरेको थियो।
विश्लेषक चेतावनी दिन्छन्ः केवल आशामा दौडिएको बजार दीर्घकालीन स्थिरता नपाउने जोखिममा छ । नीतिगत सुधार, आर्थिक उत्पादन र संस्थागत स्थिरता बिना, यो उछाल अल्पकालीन चमक मात्र बन्न सक्छ ।
आजको स्थिति स्मार्ट लगानीकर्ताको दृष्टिकोणमा निर्णायक छ । अत्यधिक उत्साहमा अन्धाधुन्ध किनमेल गर्नु जोखिमपूर्ण छ । अनुभवी लगानीकर्ताले तीन रणनीति अपनाउने गर्छन् । जसमा बलियो आधार भएका कम्पनीमा लगानी,तीव्र उछालपछि आउने सुधारलाई अवसरको रूपमा प्रयोग र दीर्घकालीन दृष्टिकोण राख्ने।
नेपालको पूँजी बजार अझै पनि प्रारम्भिक चरणमै छ, जहाँ भावनाले तथ्यभन्दा बढी चलाउँछ। त्यसैले हरेक नयाँ बुल रनसँग ठूलो अवसर र ठूलो जोखिम दुवै जुधेका छन्।
आजको उछाल केवल सूचकांकको मात्र होइन, जनताको अपेक्षाको सूचक पनि हो। जनता परिवर्तन, पारदर्शिता र आर्थिक अवसर खोज्दैछ । यदि नयाँ राजनीतिक नेतृत्वले यी अपेक्षालाई नीतिगत सुधारमा रूपान्तरण गर्न सके, “बालेन बुल” शब्दावली मात्र नभएर नेपालको आर्थिक इतिहासको नयाँ अध्याय बन्न सक्छ ।
तर यदि परिवर्तन केवल नारामै सीमित रह्यो भने, बजारको यो उत्साह छिट्टै क्षणिक चमक बनेर हराउने सम्भावना पनि छ ।





























प्रतिक्रिया