काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
नगरपालिकाभित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ।
हाल संघ र प्रदेश कार्यालयबाट चिकित्सकसहितको टोली उक्त क्षेत्रमा पुगेर दादुरा नियन्त्रणको काम गरिरहेको छ। फागुनको पहिलो साता भारतबाट आएका एक जना सङ्क्रमितबाट दादुरा फैलिएको अनुमान गरिएको छ।
भारतबाट आएका एक बिरामी उपचारका लागि अस्पताल पुगेपछि उनीबाट अन्य व्यक्तिमा दादुरा फैलिएको आशंका गरिएको छ। एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण फैलिन करिब १४ दिन लाग्ने भएकाले भर्खरै मात्रै उक्त क्षेत्रमा दादुरा फैलिएको थाहा भएको हो।
दादुरा अत्यन्तै सङ्क्रामक रोग भएकाले एक जना सङ्क्रमितबाट १८ जनासम्ममा सङ्क्रमण फैलिन सक्ने बताइएको छ। हाल १४ बिरामीको नमूना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
हाल ढोरपाटन क्षेत्रमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका करिब ३० जना बिरामी अस्पतालमा भर्ना भएका छन्।





























प्रतिक्रिया