प्रतिनिधिसभामा नयाँ भित्रिए, प्रत्यक्षतर्फ पुराना दललाई ठूलो धक्का

प्रतिनिधिसभामा नयाँ भित्रिए, प्रत्यक्षतर्फ पुराना दललाई ठूलो धक्का

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएसँगै संसद्मा नयाँ अनुहारहरूको उल्लेख्य उपस्थिति देखिएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभूतपूर्व जितसँगै पुराना दलको वर्चस्व घट्दै नयाँ नेतृत्व संसद्मा प्रवेश गरेको छ ।

प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५ सिट जित्दै सरकार बनाउने हैसियत प्राप्त गरेको छ। यसअघि संसद्मा २१ सदस्य रहेको रास्वपाबाट यसपटक १२ जना मात्र दोहोरिएका छन् भने ११३ जना पूर्ण रूपमा नयाँ अनुहार संसद्मा पुगेका छन्।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाल कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्। त्यस्तै एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।

रास्वपाबाट झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत अधिकांश जिल्लाबाट नयाँ उम्मेदवार निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित १८ मध्ये पनि अधिकांश नयाँ अनुहार छन्। एमालेबाट विजयी भएका ९ मध्ये तीन जना नयाँ सांसद हुन् भने नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित ८ मध्ये तीन जना पहिलोपटक संघीय संसद्मा पुगेका छन्।

यसपटक पहिलोपटक चुनाव लडेर विजयी भएका श्रम संस्कृति पार्टीका तीनै उम्मेदवार नयाँ अनुहार हुन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका महावीर पुन पनि पहिलोपटक संसद्मा पुगेका छन्।

यसैबीच समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार सोमबार अपराह्नसम्म एक करोड पाँच लाखभन्दा बढी मत गणना भइसकेको छ। हालसम्म छ वटा दलले तीन प्रतिशत थ्रेसहोल्ड पार गरेको आयोगले जनाएको छ।

समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दल प्रतिस्पर्धामा छन् भने अन्तिम परिणाम आज साँझसम्म आउने अनुमान गरिएको छ ।

Logo