“विधवाको त्रास”

“विधवाको त्रास”

केन्द्रबिन्दु
102
Shares

काठमाडौं। चार वर्षको हुँदा–नहुँदै मेरो बिहे गरिदिनु भयो। त्यतिबेला मलाई केही पनि थाहा थिएन। अहिले “माइ हनी” भन्छन्, तर त्यतिबेला “खसम” भन्ने चलन थियो। स्वामी, नाथ, मालिक, श्रीमान्, प्रभु पनि भन्ने गरिन्थ्यो। तर मैले मेरा खसमलाई कहिल्यै राम्रोसँग मुख हेर्ने अवसर पनि पाएनँ, उहाँ त खस्नु भयो।

म फुपुको अनुहार हेरिरहेकी थिएँ। अनि सोधेँ, “फुपु, कहाँबाट खस्नु भयो नि?”

मेरो प्रश्न सुनेर फुपु बर्बर आँसु झार्दै रुन थाल्नुभयो। मेरो हात सुम्सुमाउँदै भन्नुभयो, “तिमीले यस्ता कुरा बुझ्दिनौ भतिजी।”

म सानै भए पनि निकै जिज्ञासु र अलि जिद्दी स्वभावकी थिएँ। मैले फेरि कर गरेँ-
“भन्नु न फुपु, के भयो?”

फुपुले आँसु पुछ्दै भन्नुभयो, “सबै कुरा तिमीले बुझ्दिनौ। तिमी ठूलो भएपछि भन्छु है। मेरो पनि को छ र मनको कुरा पोख्ने? बा–आमाले बेलैमा छोडेर जानु भयो। तिम्रा बा–आमाले पनि मेरो कुरा सुन्न चाहँदैनन्। म त धित मरेर रुन ठाउँ पनि अहिलेसम्म भेटेकी छैन भतिजी।”

यति भन्दै उहाँ झन् घुक्क–घुक्क रुन थाल्नुभयो।

तर “खस्नु भयो” भन्ने शब्दले मेरो मनमा झन् जिज्ञासा बढाइरहेको थियो। मैले फेरि सोधेँ-
“फुपु, भन्नु न।” त्यसपछि फुपुले भन्नुभयो, “तिमीलाई म खसम नभएपछि एउटा विधवाले कस्तो डर र त्रासमा जीवन बिताउनुपर्छ भन्ने कुरा थोरै सुनाउँछु है।”

म उत्सुकताका साथ सुन्न थालेँ। फुपुको हात छोडिनँ। फुपु भन्न थाल्नुभयो- “हेर भतिजी, तिम्रो पुसाजुले छोडेर गएपछि म सानै उमेरकी थिएँ। घरमा सासु–ससुरा हुनुहुन्थ्यो। सानैमा विधवा बनेकी म कसैको प्यारो हुन सकिनँ। दिनरात काम गर्दा पनि जस पाउँदिनथेँ। ससुराबाले अलिकति माया देखाउनु हुन्थ्यो, तर सासुआमाले मेरो टेकेको पाइला पनि फुक्नु हुन्थ्यो। कति पटक त मलाई खान नदिई कुटपिट गर्नु हुन्थ्यो। मेरो कपालका रौँ–रौँ केलाउनु हुन्थ्यो।

सासुको व्यवहारले आजित भएपछि ससुराबाले मलाई घरदेखि अलि परको गोठमा छुट्टै राखिदिनु भयो। मसँग खानलाई एक गेडो अन्न पनि थिएन। बाहिर निस्किएर काम गर्ने वातावरण पनि राम्रो थिएन।

गाउँमा ‘राँडी’ भनेपछि गाउँका ब्वासाहरूको हेर्ने नजर नै फरक हुन्थ्यो। तिम्रो पुसाजुले छोडेर गएको केही वर्षपछि मेरो जवानी पनि उम्लँदै थियो। तर त्यो समाजमा सेतो पहिरनमा विधवाको जवानी लुकाएर बस्न निकै गाह्रो थियो।

गाउँका ब्वासाहरू म र मेरो जवानीमा गिद्धे नजर लगाउँथे। म डराउँथेँ, अतालिन्थेँ। एक्लै हुँदा त कति रोएँ, कति रोएँ।” फुपुले केही बेर रोकिनुभयो। म झन् उत्सुक हुँदै सोधेँ,
“अनि के भयो नि?”

फुपु फेरि भन्न थाल्नुभयो, “तिमीलाई आज एक दिनको सानो घटना सुनाउँछु। एक दिन म मेला गएर आएकी थिएँ। झमक्क रात परिसकेको थियो। चारैतिर सुनसान थियो। म गोठमा पुगेर घुरुक्क ढोका खोलेँ। शिरमा एउटा सेतो गम्छा गुथेकी थिएँ। असार महिना भएकाले निकै गर्मी थियो। मनिखाबोमा गम्छा झुण्ड्याएर सुस्केरा हाल्दै ओछ्यानको गुन्द्रीमा पल्टिएँ।

भोक लागेको थियो। सोचेँ-‘पापी पेट त खानै पर्‍यो।’ कुनामा रहेको चुल्हो बाल्न लागेँ। तर पकाउन त्यति केही थिएन, भाँडा पनि थिएन। छुट्टिँदा सासुआमाले दिएको एउटा माटोको कराही मात्र थियो। त्यो कराही मलाई निकै प्यारो लाग्थ्यो। त्यसैमा खिचडी पकाएर खाने निधो गरेँ।

कराही लिन फर्किएँ। हातमा लिएर फर्केर हेर्दा घरको बीचमा सेतो कपडा लगाएको अग्लो मान्छे हलचल गरिरहेको देखेँ।

म डराएर सोधेँ- ‘को हो?’ कोही बोलेन। फेरि सोधेँ-‘को होस त?’ अझै पनि कुनै आवाज आएन। मेरो मुटु ढुकढुक गर्न थाल्यो। म रोएँ, कराएँ, चिच्याएँ। तर त्यो मान्छे हल्लेन। मेरो आवाज सुन्ने पनि कोही थिएन।

अन्ततः डरले काँप्दै हातमा रहेको कराही त्यहीँ मान्छेमाथि फ्याँकेँ। तर कराही उसलाई नछोई भुइँमा झर्याम्झुरुम्म फुट्यो। म अझै डराएकी थिएँ। ढोकातिर दौडिएँ। सुत्नु अघि सुरक्षा गर्न राखेको ढोकाको औलो समातेँ र कराएँ-
‘आज तँलाई यहीँ मार्छु!’

जोरले हिर्काएँ। तर त्यो औलो पनि उसलाई नलागी गोठको मनिखाबोमा ठोक्किएर चर्कियो। त्यसपछि मैले साहस गरेर आँखा राम्रोसँग खोलेर हेरेँ। त्यो सेतो अग्लो आकृति छामेँ। मुसारेँ।

त्यो त म मेला जाँदा शिरमा गुथेको सेतो गम्छा रहेछ, जुन म आफैले आएर मनिखाबोमा झुण्ड्याएकी थिएँ। त्यही गम्छालाई काखमा च्यापेर म चिच्याइ–चिच्याइ रुन थालेँ। होस हवासमा थिइनँ। हिजो खसम गुमाएकी म, आज सबै कुरा गुमाए जस्तो लाग्यो। सुरक्षाका लागि राखेको ढोकाको औलो पनि भाँचियो, र भोक मेटाउने मेरो प्रिय कराही पनि फुट्यो।”

फुपुले आँसु पुछ्दै भनिन्-
“भतिजी, यही हो विधवाको त्रास।”


स्वइच्छा आचार्य -पर्वत साहित्य संगमकी क्रियाशिल सर्जक हुन्। उनी विशेष गरी गीत, गजल र कवितामा बढी कलम चलाउँछिन्।

Skip This
Skip This
Logo