काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा निर्वाचनमा सहभागी ५७ दलमध्ये ५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ संयुक्त चुनाव चिह्नसहित ५७ दलले भाग लिएका थिए। तीमध्ये छ दलले मात्रै संसद्मा प्रतिनिधित्व पाउने देखिएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा खसेको कुल सदर मतमध्ये कम्तीमा तीन प्रतिशत मत ल्याउने दललाई मात्र सिट बाँडफाँट हुने व्यवस्था छ। देशलाई एक निर्वाचन क्षेत्र मानेर दललाई मत दिने र प्राप्त मतको अनुपातमा प्रतिनिधिसभामा सिट दिइने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।
समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मत पाएको छ। नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख चार हजार ८५४, नेकपाले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्।
यी बाहेक अन्य दलले थ्रेसहोल्ड कटाउन सकेनन्।
थ्रेसहोल्ड नकटाउने दलमा जनमत समाजवादी पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय जनमोर्चालगायतका दल छन्।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (माओवादी), मङ्गोल नेशनल अर्गनाइजेशन, आम जनता पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, स्वाभिमान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय एकता दल, नेकपा (माक्र्सवादी–लेनिनवादी) लगायतका दलले पनि न्यूनतम मत सीमा पार गर्न सकेनन्।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा कम्तीमा एक सिट नपाउने दलको धरौटी जफत हुने व्यवस्था छ। साथै प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था रहेको आयोगले जनाएको छ।





























प्रतिक्रिया