काठमाडाैं । बङ्लादेशले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानमाथि ८ विकेटको शानदार जित दर्ता गरेको छ । बलर नाहिद रानाको घातक बलिङ र ओपनर तन्जिद हसनको आक्रामक ब्याटिङको मद्दतले बंगलादेशले सिरिजमा १–० को अग्रता लिएको छ।
घरेलु मैदान मिरपुरमा ११५ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले मात्र १५.१ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गर्यो। बंगलादेशका लागि ओपनर तन्जिद हसनले विष्फोटक पारी खेल्दै ४२ बलमा ६७ रन (७ चौका र ५ छक्का) बनाएर अविजित रहे। उनलाई कप्तान नजमुल हुसेन शान्तोले २७ रन बनाएर साथ दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ३०.४ ओभरमा मात्र ११४ रन बनाउँदै अलआउट भएको थियाे । पाकिस्तानका लागि तल्लो क्रमका ब्याटर फहीम अशरफले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ४७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी ओपनर साहिबजादा फरहानले २७ रन र माज सदाकतले १८ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानको मध्यक्रम पूर्ण रूपमा ध्वस्त हुँदा सलमान अघा, मोहम्मद रिजवान र अबरार अहमद जस्ता अनुभवी खेलाडीहरू सस्तैमा पेभेलियन फर्किएका थिए।
बंगलादेशका युवा तीव्र गतिका बलर नाहिद रानाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको ब्याटिङ मेरुदण्ड भाँचे । उनले ७ ओभरमा मात्र २४ रन खर्चेर ५ विकेट लिए। कप्तान मेहदी हसन मिराजले पनि कसिलो बलिङ गर्दै १० ओभरमा २९ रन दिएर ३ विकेट हात पारे। बाँकी २ विकेट तस्किन अहमद र मुस्तफिजुर रहमानको नाममा रह्यो।





























प्रतिक्रिया